इरानको सैन्य क्षमता लगभग समाप्त भइसक्यो, युद्ध जति आवश्यक हुन्छ त्यति नै चल्छ : डोनाल्ड ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्ध कति समयसम्म चल्छ भन्ने कुरा यकिनका साथ भन्न नसकिने बताएका छन्।
‘एयर फोर्स वान’ (राष्ट्रपतिको विमान)मा चढ्नुअघि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आवश्यकताअनुसार युद्ध लम्बिन सक्ने बताएका हुन्।
यो युद्ध कहिलेसम्म चल्छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘म तपाईंलाई यो कुरा बताउन सक्दिनँ। मसँग आफ्नो एउटा अनुमान त छ, तर त्यसको के फाइदा? यो जति समय आवश्यक पर्छ, त्यति नै समय चल्नेछ। उनीहरू (इरान) नराम्रोसँग बर्बाद भइसकेका छन्।’
यसअघि ट्रम्पले इरानले विनाशर्त आत्मसमर्पण गरेपछि मात्र युद्ध समाप्त हुने बताएका थिए। उक्त भनाइको अर्थ के हो भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट पार्दै भने, ‘यसको अर्थ इरानको नौसेना, वायुसेना र उसको अधिकांश सैन्य क्षमता अब लगभग समाप्त भइसकेको छ।’
उनले थपे, ‘यसको सीधा अर्थ यो हो कि हामी यस्तो स्थितिमा छौं, जुन विश्वमा पहिले कहिल्यै देखिएको थिएन।’
सोही क्रममा पत्रकारहरूले ट्रम्पलाई इरानविरुद्धको युद्धमा उनको र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लक्ष्य एउटै हो कि होइन भनेर पनि प्रश्न गरेका थिए।
जवाफमा ट्रम्पले भने, ‘मलाई लाग्छ कि हाम्रा लक्ष्यहरू अलिकति फरक हुन सक्छन्। तर उनले (नेतन्याहुले) पनि तपाईंहरूलाई बताउनेछन् कि विश्वले अमेरिका जस्तो तागत यसअघि कहिल्यै देखेको छैन।’
फागुन ३०, २०८२ शनिबार ०७:२१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।