खेलाडीलाई छ सय रुपैयाँ दिन नसक्दा जापानमा हुने एसियाली खेलकुदको प्रशिक्षण रोकियो
काठमाडौं : जापानमा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड)को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरिरहेको ‘मिसन-२०२६’को विशेष प्रशिक्षण बजेट अभावको कारण देखाउँदै स्थगित गरिएको छ।
खेलाडी र प्रशिक्षकलाई दिइँदै आएको दैनिक ६ सय रुपैयाँ सामान्य भत्तासमेत उपलब्ध गराउन नसकेपछि राखेपले गत माघ २९ गतेदेखि प्रशिक्षण नै बन्द गरेको हो।
सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोयामा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कको पदक जित्ने महत्त्वाकांक्षी लक्ष्यसहित यो विशेष प्रशिक्षण सुरू गरिएको थियो।
तर, सामान्य खर्चसमेत धान्न नसकेर प्रशिक्षणको मध्यभागमै शिविर बन्द भएपछि यतिबेला खेलाडी र प्रशिक्षक चरम अन्योलमा परेका छन्।
बजेट सकिएको राखेपको दाबी
राखेपका सदस्य सचिव रामचरित्र मेहताले बजेट अभावकै कारण प्रशिक्षण रोकिएको स्वीकार गरेका छन्।
‘प्रशिक्षण पूर्ण रूपमा रोकिएको होइन, चालु आर्थिक वर्षका लागि विनियोजित बजेट खर्च भएर सकिएकाले केही समयका लागि स्थगित मात्र भएको हो,’ उनले भने, ‘हामीले थप बजेट माग गरेका छौँ। अर्थ मन्त्रालयबाट प्रतिबद्धता आइरहेको छ, चैत महिनाभित्रै प्रशिक्षण पुनः सुरू हुन्छ।’
यद्यपि, उनले बजेट सकिएको र चुनावको कारण देखाउँदै एक महिनाको ‘ग्याप’ राखेको बताउनुले व्यवस्थापकीय कमजोरी र विरोधाभासपूर्ण अवस्थालाई इङ्गित गर्छ।
यता, राष्ट्रिय टिम तयारीका निर्देशक एवं ओलम्पियन दीपक विष्टले बजेट व्यवस्थापनका लागि सरकारसँग तीव्र रूपमा पहल भइरहेको बताए। अन्य देशका खेलाडीको पूर्वतयारी र मिहिनेतलाई मध्यनजर गर्दै नेपाली खेलाडीको प्रशिक्षण तत्काल सुचारु गर्नुपर्नेमा उनको जोड छ।
‘एसियाली खेलकुदमा पदक जित्ने हो भने प्रशिक्षण रोकिनु हुँदैन। चाँडोभन्दा चाँडो बजेट व्यवस्थापन गरी सबै खेलाडीलाई प्रशिक्षणमा फर्काउन सरकारसँग अनुरोध गरेका छौँ’, विष्टले भने।
हाल यो मिसनअन्तर्गत तेक्वान्दो (पारासहित), जुडो, उसु, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ, कुस्ती र कराते गरी १२ वटा खेलका करिब दुई सय खेलाडी तथा प्रशिक्षक सहभागी छन्।
६ सय नपाउँदाको पीडा र खेर गएको ४ करोड
राखेपले बजेट अभावको कारण देखाउँदै गत माघ २९ गतेदेखि प्रशिक्षण नै स्थगित गरेपछि खेलाडी र प्रशिक्षक निराश हुँदै घर फर्किएका छन्।
दैनिक ६ सय रुपैयाँ भत्तासमेत दिन नसकेपछि राखेपले ‘बजेट व्यवस्थापन गरेर केही दिनपछि खबर गर्ने’ आश्वासन दिँदै उनीहरूलाई फर्काएको राष्ट्रिय टिम तयारीका एक प्रशिक्षकले उकेरालाई बताए।
‘मिसन-२०२६’ को तयारीका लागि हालसम्म करिब ४ करोड रुपैयाँ खर्च भइसकेको अनुमान छ। तर, बीचमै प्रशिक्षण रोकिँदा अहिलेसम्मको लगानी र मिहिनेत ‘बालुवामा पानी हाले झैँ’ खेर जाने जोखिम बढेको ती प्रशिक्षकले चिन्ता व्यक्त गरे।
‘हाम्रो करिब डेढ वर्षको तयारी बिग्रियो। तालिकाअनुसार हुनुपर्ने प्रशिक्षण भताभुङ्ग भएको छ भने पहिलो चरणको तयारी नै प्रभावित हुन थाल्यो,’ उनले भने, ‘अब चैतको दोस्रो सातासम्ममा पुनः प्रशिक्षण नथाल्ने हो भने सम्पूर्ण तयारी लथालिङ्ग हुनेछ।’
एसियाली खेलकुदका लागि सुरू भएको यो प्रशिक्षण रोकिने र पुनः सुरु हुने शृङ्खला भने नौलो होइन।
राखेपले सुरूमा २०८१ जेठ, असार र साउन गरी तीन महिना खेलाडी तथा प्रशिक्षकलाई दैनिक ३ सय रुपैयाँ भत्ता दिएर विशेष प्रशिक्षण सञ्चालन गरेको थियो। तर, बजेट अभावकै कारण भदौ, असोज र कात्तिकमा प्रशिक्षण स्थगित गरियो।
त्यसपछि २०८१ मंसिर १ गतेबाट पुनः सुरू भएको प्रशिक्षण २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका कारण केही दिनको प्रभावित भए पनि त्यसपछि माघ २९ गतेसम्म निरन्तर चलेको थियो। माघ २९ पछि भने पुनः बजेट अभाव भएको भन्दै राखेपले ‘मिसन-२०२६’ को प्रशिक्षण पूर्ण रूपमा रोकेको हो।
प्रशिक्षणमा सहभागी प्रशिक्षक र खेलाडीलाई राखेपले सुरुमा दैनिक ३ सय रुपैयाँ भत्ता दिँदै आएको थियो। पछि त्यसलाई बढाएर ५ सय र गत भदौदेखि ६ सय रुपैयाँ पुर्याइएको थियो।
तर, यो सामान्य रकमबाहेक खान र बस्नको कुनै पनि सुविधा नभएकाले दैनिक गुजारा चलाउनै मुस्किल पर्ने गरेको खेलाडी तथा प्रशिक्षकहरूको गुनासो छ।
‘यति थोरै पैसाले काठमाडौंमा के खानु? कहाँ बस्नु? हाम्रो बिजोग छ,’ ती प्रशिक्षकले पीडा पोख्दै भने, ‘त्यही सामान्य रकम पनि दिन नसकेर अहिले राज्यले प्रशिक्षण नै रोकिदियो।’
मेडिकल रेकर्डमा समेत गम्भीर असर
प्रशिक्षण रोकिँदा खेलाडीको स्वास्थ्य परीक्षण र रेकर्डिङमा समेत गम्भीर असर परेको छ।
राखेपअन्तर्गतको ‘स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर’ (एसएमआरसी)ले यो विशेष प्रशिक्षणमा सहभागी खेलाडीहरूको नियमित स्वास्थ्य परीक्षण गर्दै आएको थियो।
स्पोर्ट्स मेडिसिन विज्ञ डा. पदमबहादुर खड्काका अनुसार यसै वर्षदेखि नेपालमै पहिलो पटक खेलाडीको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ (ईएमआर) राख्न सुरू गरिएको थियो।
‘प्रशिक्षण स्थगित हुँदा खेलाडीको नियमित स्वास्थ्य जाँच हुन पाउँदैन। यसले उनीहरूको फिटनेस ट्र्याक गर्न नसकिने र पछि मुख्य खेलका बेला प्रदर्शन (परफर्मेन्स) मै गम्भीर समस्या निम्तिने जोखिम रहन्छ’, डा. खड्काले बताए।
फागुन २७, २०८२ बुधबार २३:०३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।