फेक रेस्क्यु प्रकरण : पानोरमा हिमालय ट्रेकका अध्यक्ष पासाङ शेर्पा पक्राउ
काठमाडौं : पर्वतारोहण तथा ट्रेकिङ्ग क्षेत्रमा भएको फेक रेस्क्यु प्रकरणमा संलग्न ट्रेकिङ कम्पनीका सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पासाङ शेर्पा रहेका छन्।पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्पिडिसन प्रालिका सञ्चालक रहेका शेर्पालाई बुधबार काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।
नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रामा आएका विदेशी पर्यटकहरूको नक्कली उद्धार गरिएको देखाई बीमा कम्पनीबाट रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार रेस्क्यु फ्लाइट सञ्चालन गर्ने कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको अभिलेखको विवरणमा हेरफेर गरी यात्रु र कार्गो फरक पारेको, किर्ते कागजात तयार गरेको तथा सोही आधारमा बिल बनाएको पाइएको छ।
उनीहरूले पर्यटकहरूलाई विभिन्न अस्पतालमा उपचार गरेको नक्कली कागजात बनाई विदेशी बिमा कम्पनीहरूबाट रकम दाबी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
सन् २०२५ मा सगरमाथा बेसक्याम्प जाने क्रममा दुई विदेशी नागरिकले आफ्नो सहमति बिना नै हेलिकप्टर मगाएर उद्धारको नाटक गरिएको भनी दिएको उजुरीका आधारमा यो अनुसन्धान अघि बढेको हो।
प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, बीमा एजेन्ट र हेलिकोप्टर कम्पनीका सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि ठगीका साथै राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
फागुन २७, २०८२ बुधबार १७:५५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।