कैद सजाय सकिएपछि रिहा भए मनाङे, रवि हात हल्लाउँदै निस्किए पनि पछि फर्किनु परिहाल्छ भनेर बसेका थिए जेलमै
काठमाडौं : चक्रे मिलन भनिने मिलन गुरूङमाथि तरवार हानेर हत्या प्रयास गरेको मुद्दामा डिल्लीबजार कारागारमा रहेका दीपक मनाङे भनिने राजिव गुरूङ बुधवार जेल मुक्त भए।
उच्च अदालतले तोकेको सजायमध्ये २० प्रतिशत कैद सजाय बाँकी नै रहेको खुलेपछि उनी गण्डकी प्रदेशको सांसद रहेकै अवस्थामा पक्राउ परेर जेल चलान भएका थिए।
उनी जेल परेपछि उनको प्रदेश सांसद पद खारेज भएको थियो। तर उप निर्वाचन भएको छैन।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती नख्खु कारागारबाट निस्किएपछि देशभरका जेलका कैदीबन्दी जेलब्रेक गरेर निस्किए।
डिल्लीबजार कारागारबाट पनि कैदी-बन्दी निस्किए पनि उनी भने पछि फर्किनु परिहाल्छ भनेर जेलमै बसेका थिए। भदौ २४ मा देशभरबाट भागेका १५ हजार कैदी-बन्दीमध्ये अझै ४ हजार बढी जेल फर्किएका छैनन्।
मनाङे २०८१ कात्तिकमा पक्राउ परेका थिए। २०६१ मा पानीपोखरीको चुफाङ रेष्टुरेन्टमा चक्रेमाथि तरवार प्रहार भएको थियो। सोही घटनामा उनी जिल्ला अदालतबाट दोषी ठहर भएका थिए। पुर्पक्षसहितबाट तोकिएको सजाय कट्टा भएको देखिएपछि उनी रिहा भए।
जिल्ला सरकारी वकिल पुनरावलोकनमा जाँदा जिल्लाको फैसला संशोधन गर्दै सजाय थपियो। तर थप सजायका लागि उनी कारागार चलान भएनन्। जब उनी प्रदेश सांसद भए तब यो तथ्य खुल्यो। उनी जेल परे पनि सर्वोच्चले बाहिरै बसेर पुर्पक्ष गर्न पाउने आदेश दिएपछि उनी सांसद बन्दै पटक पटक प्रदेश मन्त्री समेत भए।
त्यही बेलामा सर्वोच्चले उच्चको फैसला सदर गरेपछि उनी पक्राउ परेका थिए।
फागुन २७, २०८२ बुधबार १७:०८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।