मनोवैज्ञानिक कथामा नीर शाहको ‘कमला मिस’, २३ दिनमै सुटिङ पूरा

मनोवैज्ञानिक कथामा नीर शाहको ‘कमला मिस’, २३ दिनमै सुटिङ पूरा

काठमाडौं : फिल्म ‘परान’मार्फत हलमा परान भरेका नीर शाह पुनः फिल्म निर्देशनमा फर्किएका छन्। उनी अचानक फिल्म ‘कमला मिस’मार्फत निर्देशनमा फर्किएका हुन्। 

नयाँ अनुहार राखेर निर्माण गरिएको यस फिल्मको छायांकन उनले हिजो (मंगलबार) सकेका छन्। एक महिनाको छायांकन सेड्युलमा निस्किएको 'कमला मिस' २३ दिनमा नै पुरा भएको फिल्मका लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन)ले जानकारी दिए। 

उनले भने, "बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिका अगावै फिल्मको खिच्ने सम्पूर्ण काम सम्पन्न गर्यौ।" मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाह आफैले पनि अभिनय गरेका छन्। 

फिल्ममा नीरका अलवा रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी सुरेश थापा, राजन केसी र संजय खतिवडाको पनि अभिनय रहेको छ। नीर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता फिल्म निर्देशन गरेका थिए। 

पछिल्लो समय दर्शकले नयाँ शैलीको फिल्मप्रति रुचि देखाउने थालेको बेलामा ‘कमला मिस’ले दर्शकमाझ छाप छोड्न सक्ला ? चर्चा र चासोको विषय बनेको छ। विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्।

निर्माण पक्षका अनुसार यो फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। 

फागुन २७, २०८२ बुधबार १४:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।