वायु प्रदूषणको स्तर चिन्ताजनक : अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र सवारीसाधनको कम प्रयोग गर्न प्रहरीको अनुरोध

वायु प्रदूषणको स्तर चिन्ताजनक : अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र सवारीसाधनको कम प्रयोग गर्न प्रहरीको अनुरोध

काठमाडौं : काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेपछि प्रहरी प्रधान कार्यालयले सर्वसाधारणमा विशेष सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बढ्दो प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै आज एक सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेका हुन्।

नेपाल प्रहरीले नागरिकमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ।

त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ। 

विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ। श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए। 

मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ। उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ। यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध पनि गरिसकेको छ। 

फागुन २७, २०८२ बुधबार १२:१९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।