राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पताल सरहकै सहुलियत
दाङ : काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा प्रदान गरिने सेवा अब दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि उपलब्ध हुने भएको छ। मंगलबार दुई संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको छ।
निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा. श्याम लम्सालले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले निजामती अस्पतालबाट प्राप्त गर्दै आएका उपचार सुविधाहरू अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै प्राप्त गर्न सक्नेछन्।
बहालवाला निजामती कर्मचारी र उनीहरूका परिवार (बुवा, आमा, श्रीमान्/श्रीमती र २१ वर्ष मुनिका दुई सन्तान गरी ६ जना) लाई उपचारमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। यस्तै, अवकाशप्राप्त कर्मचारीले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउनेछन्। तर, यो छुट ओपिडी, एम्बुलेन्स सेवा र औषधिमा भने लागू हुने छैन।
उपचार सुविधा पाउनका लागि कर्मचारीको विवरण निजामती किताबखानामा दर्ता भएको हुनुपर्नेछ। अस्पतालले सफ्टवेयरमार्फत किताबखानाको अप्टिकल फाइबर नेटवर्कसँग जोडेर कर्मचारीको विवरण रुजु गर्नेछ। विवरण दर्ता नभएका कर्मचारीको हकमा कार्यालय प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।
प्रतिष्ठान आगामी २०८३ वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने योजनामा छ। निमित्त उपकुलपति लम्सालले देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीका लागि यस्तो पहल गर्ने राप्ती पहिलो प्रतिष्ठान भएको दाबी गरे। निजामती अस्पतालका कार्यकारी निर्देशक रेग्मीले देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना अन्तर्गत यो सम्झौता गरिएको बताए।
उपचारका साथै दुवै संस्थाले जनशक्ति तालिम र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा पनि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय शैक्षिक कार्यक्रम र विशिष्टीकृत अस्पताल सेवालाई तीव्रता दिँदै आएको छ।
फागुन २७, २०८२ बुधबार ११:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।