अमेरिका-इजरायल-इरान युद्ध : १३ सय भन्दा बढी सर्वसाधारणको मृत्यु, इरानी माइन बिछ्याउने १६ जहाज ध्वस्त पारेको अमेरिकाको दाबी
एजेन्सी : इजरायलले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा नयाँ चरणको मिसाइल आक्रमण सुरु गरेको छ।
इजरायली सेनाका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा रहेको हिजबुल्लाहको पूर्वाधारहरूलाई लक्षित गरी यी आक्रमणहरू गरिएका हुन्।
युद्ध सुरु भएको करिब ११ दिनपछि पनि आक्रमण र प्रतिआक्रमण जारी रहेको छ। अमेरिका र इजरायलका सेनाले देशभर करिब १० हजार नागरिक संरचनामा बम आक्रमण गरेको इरानले जनाएको छ। ती आक्रमणमा परी एक हजार तीन सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीले आक्रमणमा हजारौँ आवासीय घर, व्यापारिक केन्द्र, विद्यालय तथा स्वास्थ्य संस्थासमेत ध्वस्त भएको बताएका छन्।
युद्धमा अहिलेसम्म करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता दुई देशबिचको तनाव जारी छ। जवाफमा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
इरानकाे आक्रमणका कारण संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई रक्षा प्रणालीले मिसाइल खतरा को सामना गरिरहेको बताएको छ भने साउदी अरबले आफ्नो तेल खानी र सैन्य अखडातर्फ आउँदै गरेका कैयौँ ड्रोन र मिसाइलहरू खसालेको जनाएको छ।
ओमान र दुबईबाट बेलायती र अमेरिकी नागरिकहरू ठूलो संख्यामा स्वदेश फर्किरहेका छन्। युद्ध सुरु भएदेखि ४३ हजार भन्दा बढी अमेरिकी र ४५ हजार भन्दा बढी बेलायती नागरिकहरूले यो क्षेत्र छोडिसकेका छन्।
यसैबिच, इरानले हर्मुज स्ट्रेटमा तेल यातायात अवरुद्ध गर्ने प्रयास गरे कडा कारबाही गर्ने अमेरिकाले चेतावनी दिएको छ। साथै अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुज नजिकै इरानी माइन बिछ्याउने १६ वटा जहाज नष्ट गरेको दाबी समेत गरेको छ।
यो समुद्री मार्ग विश्वमा तेल ढुवानीका लागि सबैभन्दा महत्त्वपूर्ण मार्गमध्ये एक हो।
उता इरानले पनि इजरायल तथा अमेरिकी हितमा रहेका क्षेत्रहरूमा मिसाइल प्रहार गरिरहेको बताइएको छ। यसका कारण मध्यपूर्व क्षेत्रभर तनाव थप बढेको छ।
यो द्वन्द्वका कारण विश्वको व्यस्त तेल ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज ठप्प भएको छ। जसले गर्दा विश्वव्यापी ढुवानी लागत बढ्ने र त्यसको भार उपभोक्ताहरूमा पर्ने ढुवानी कम्पनी मेर्स्क का प्रमुखले चेतावनी दिएका छन्। कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी जनतालाई सम्बोधन गर्दै आयतोल्लाह शासन हटाउन र स्वतन्त्रता प्राप्त गर्न आग्रह गरेका छन्। अर्कोतर्फ, इरानका प्रहरी प्रमुखले सरकार विरोधी प्रदर्शन गर्ने जोकोहीलाई शत्रु सरह व्यवहार गरिने चेतावनी दिएका छन्।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले यस युद्ध र यसको क्षेत्रीय प्रभावबारे खाडी मुलुकहरू र रुसद्वारा प्रस्तुत गरिएका प्रतिस्पर्धी प्रस्तावहरूमा मतदान गर्ने तयारी गरिरहेको छ।
खाडी देशहरूले प्रस्तुत गरेको प्रस्तावमा इरानले उनीहरू तथा जोर्डनमाथि गरेको आक्रमणको निन्दा गरिएको छ भने रुसले पेश गरेको प्रस्तावमा इरान, इजरायल वा अमेरिका कसैको नाम उल्लेख नगरिएको भए पनि नागरिकमाथि भएका सबै आक्रमणको निन्दा गर्दै सबै पक्षलाई युद्ध रोक्न र पुनः वार्तामा फर्किन आग्रह गरिएको छ।
फागुन २७, २०८२ बुधबार १२:५६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।