याङ्गो राइडले नेपालमा सुरु गर्‍यो १० लाखसम्मको निःशुल्क ‘इन-राइड’ बीमा योजना

याङ्गो राइडले नेपालमा सुरु गर्‍यो १० लाखसम्मको निःशुल्क ‘इन-राइड’ बीमा योजना

काठमाडौं : नेपालमा सेवा विस्तार गरिरहेको विश्वव्यापी प्रविधि कम्पनी याङ्गोले आफ्ना पार्टनर चालक, यात्री र कुरियर डेलिभरी गर्ने व्यक्तिहरूका लागि निःशुल्क ‘इन-राइड’ बीमा सुविधा सुरु गरेको छ। 

कम्पनीले मार्च ३ देखि लागू हुने गरी याङ्गो एपमार्फत गरिने प्रत्येक यात्रामा यो सेवा स्वतः लागू हुने जानकारी दिएको छ। सुरक्षित सहरी यात्रालाई मजबुत बनाउन कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडसँगको सहकार्य र ‘खल्ती सुरक्षा’को प्राविधिक सहयोगमा यो योजना ल्याएको हो।

बीमा योजना अन्तर्गत प्रति राइड अधिकतम १० लाख रुपैयाँसम्मको कभरेज प्रदान गरिने जनाएको छ। चालकका लागि राइड स्वीकार गरेदेखि बीमा सुरु हुनेछ भने यात्रीका लागि पिकअप बिन्दुदेखि गन्तव्यमा पुगेर ओर्लने समयसम्म यो सुविधा कायम रहनेछ। 

यो व्यवस्था डेलिभरी अर्डर पूरा गरिरहेका कुरियर पार्टनरहरूका हकमा पनि लागू हुने कम्पनीले जनाएको छ। दुर्घटना भएमा घाइते वा प्रभावित पक्षले आवश्यक कागजातसहित ३० दिनभित्र बीमा दाबी गर्नुपर्ने र ती कागजात प्रमाणित भएको १५ कार्य दिनभित्र भुक्तानी दिइने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
 

फागुन २७, २०८२ बुधबार ०९:१०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।