खाना पकाउने क्रममा ग्यासको रेगुलेटर पड्किँदा एक महिला घाइते
सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका- ११ धनसरीमा ग्यास सिलिन्डरको रेगुलेटर पड्किएर एक महिला घाइते भएकी छन्।
मंगलबार साँझ खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर अचानक फुटेर आगो सल्किदा स्थानीय लाटाराम चौलागाईंकी ४६ वर्षीया श्रीमती पार्वती चौलागाईं घाइते भएकी हुन्।
आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर अचानक फुटेर ग्यास लिक भएको थियो। सोही क्रममा सल्किएको आगोले चौलागाईंले लगाएको साडीमा भेट्दा उनको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ।
घाइते भए लगत्तै उनलाई उपचारका लागि उदयपुरको कटारीस्थित नगर अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति ११ बजे काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ। प्रहरी चौकी दुधौलीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ।
फागुन २७, २०८२ बुधबार ०८:२१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।