समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन दलको कति मत ?
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३२ हजार ९३२ मत गणना भएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५२ लाख ३६ हजार ६७४ मतका साथ पहिलो स्थानमा छ। निर्वाचनको मत परिणाम अनुसार यसपटक रास्वपा बलियो राजनीतिक शक्तिको रूपमा उदाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत प्राप्त गरेको छ भने एमालेले १४ लाख ४८ हजार ४२२ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १७१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल क्रमशः पछिल्ला स्थानहरूमा रहेका छन्।
श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५९४ मत, राप्रपाले तीन लाख २९ हजार ४६६ र जसपा नेपालले एक लाख ७४ हजार ३२४ मत प्राप्त गरेका छन्। जसपा नेपालले प्रत्यक्षतर्फ एक सिटमा पनि विजयी हुन सकेन।
प्रत्यक्षतर्फको नतिजातर्फ पनि रास्वपालाई ऐतिहासिक सफलता प्राप्त भएको छ। प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भइसक्दा रास्वपाले १२५ सिटमा जित हासिल गर्दै संसद्मा आफ्नो बलियो उपस्थिति सुनिश्चित गरेको छ। प्रत्यक्षतर्फ नेपाली कांग्रेस १८ र एमाले ९ र नेपाली कम्युनिष्ट पार्टी ७ सिटमा सिट चित्त बुझाउन बाध्य छन्।
निर्वाचनको यस तथ्याङ्कले नेपाली राजनीतिमा पुराना राजनीतिक शक्तिहरूको साटो नयाँ र वैकल्पिक सोच बोकेका दलहरूप्रति मतदाताको धेरै अपेक्षा देखिएको छ। यसपटक रास्वपालाई मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा उभ्याएको छ।
फागुन २७, २०८२ बुधबार ०७:५३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।