नेपाल वायुसेवा निगमले दुबईका लागि विशेष उडान सञ्चालन गर्ने

नेपाल वायुसेवा निगमले दुबईका लागि विशेष उडान सञ्चालन गर्ने

काठमाडौं : नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि काठमाडौँ-दुबई-काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएकाे छ। निगमले आज एक सूचना जारी गर्दै उडान तालिका सार्वजनिक गरेको हो। 

निगमले मंगलबार जारी गरेको सूचना अनुसार, काठमाडौँ-दुबई उडान मार्च ११ मा स्थानीय समय अनुसार राति २३:१५ बजे प्रस्थान गर्नेछ भने दुबई-काठमाडौँ उडान मार्च १२ मा बिहान ०४:१० बजे हुनेछ।

 मध्यपूर्वमा जारी असहज परिस्थितिका कारण २८ फेब्रुअरीदेखि ९ मार्च २०२६ सम्मको टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुहरूलाई लक्षित गरी यो उडान गर्न लागिएको हो।

निगमका अनुसार यात्रा गर्न चाहने यात्रुहरूले आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण गराउनुपर्नेछ। सिटको उपलब्धता अनुसार 'पहिले आउनेलाई प्राथमिकता' को आधारमा टिकट उपलब्ध गराइने भएकाले निगमले प्रमाणीकरण गरेका यात्रुहरूलाई मात्र विमानस्थल जान अनुरोध गरिएको छ।

निगमले मध्यपूर्वमा जारी असहज परिस्थितिका कारण उडान जुनसुकै समयमा रद्द हुन सक्ने र त्यस्तो अवस्थामा निगमले  थप आर्थिक वा अन्य जिम्मेवारी वहन गर्न नसक्ने स्पष्ट पारेको छ।

 

फागुन २६, २०८२ मंगलबार १८:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।