फ्लोरमा गयाे 'मुक्तिपुर', नाजिर हुसेनकाे मुख्य भूमिका रहने
काठमाडौं : रंगमञ्चका सफल अभिनेता नाजिर हुसेन पुन: ठूलो पर्दामा फर्किएका छन्। केही समययता नाटकमा बढी सक्रिय रहेका नाजिर नयाँ नेपाली फिल्म ‘मुक्तिपुर’ मा मुख्य भूमिकामा देखिने भएका छन्।
मंगलबार काठमाडौँको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्टकाे पूजा गर्दै फिल्मको औपचारिक छायांकन थालिएकाे हाे।
सुनिल पाण्डेको निर्देशनमा तयार हुने यस फिल्ममा नाजिर हुसेनका साथै गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेतीको मुख्य भूमिका रहनेछ। यसै फिल्ममार्फत आकृति बुढाथोकीले अभिनेत्रीका रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। उनी नाजिरकाे जोडीका रुपमा देखिनेछिन्। आकृतिले यसअघि केहि म्युजिक भिडियोमा अभिनय गरेकी छन्।
शुभमुहूर्तपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता नाजिर हुसेनले यो फिल्म आफ्नो करियरको महत्त्वपूर्ण फिल्म हुने र विगतको भन्दा भिन्न कथा र अभिनय दर्शकमाझ पस्किने विश्वास व्यक्त गरे।
‘हरेक फिल्म मेरो लागि नयाँ होस् भन्ने चाहन्छु’,उनी भन्छन्,‘यो फिल्मले मेरो विगतको भन्दा भिन्न कथा र अभिनय दर्शकलाई पस्किनेछ।’
उनले यसअघि गरेका ‘केटि हराएको सूचना’ र ‘गुन्यु चोलो’ जस्ता फिल्ममा अभिनयको चर्चा भए पनि व्यावसायिक रुपमा सफल हुन भने सकेनन्। फिल्मबाट अपेक्षाअनुसारकाे सफलता नपाएपछि नाजिरले मण्डला नाटकघरमा आफ्नै लेखन र निर्देशनमा हरि हजुरबुवा’ नाटक मञ्चन गरे। विजय बरालको समेत अभिनय रहेको सो नाटकलाई धेरैले मन पराएपछि उनले तराईका विभिन्न जिल्लाहरूमा समेत पुर्याएका थिए।
साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने यस फिल्ममा विजय राजवंशी र रोशन पासवानको लगानी रहेको छ। यस फिल्ममा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह – निर्माता छन्।
सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको यस फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र सरद महतोको छायांकन रहनेछ।
निर्देशक पाण्डेका अनुसार ४० दिनको छायांकन तालिका सहित फिल्म फ्लोरमा निस्किएको हो।
फागुन २६, २०८२ मंगलबार १८:१६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।