रुकुम पश्चिममा छिमेकीको विवाहमा गएका दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिममा छिमेकीको विवाहमा गएका दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ।

उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन्। बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उनका अनुसार १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ। उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो। उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए।

घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

फागुन २६, २०८२ मंगलबार १४:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।