इरानमा अमेरिकी सैन्य अभियान चाँडै सकिन्छ तर यो हप्ता होइन : डोनाल्ड ट्रम्प

इरानमा अमेरिकी सैन्य अभियान चाँडै सकिन्छ तर यो हप्ता होइन : डोनाल्ड ट्रम्प

एजेन्सी : इरानमा चलिरहेको युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिन सक्ने बताएका छन्। तर, यो यसै हप्ता भने अन्त्य नहुने उनले स्पष्ट पारेका छन्।

ट्रम्पले भने, ‘इरानसँग जे जति थियो, त्यो लगभग सकिइसकेको छ, यहाँसम्म कि उनीहरूको नेतृत्व (लिडरसिप) पनि सकिएको छ।’

हालै इरानमा आयतुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई नयाँ 'सुप्रिम लिडर' (सर्वोच्च नेता) चुनिएको छ।

इरानका नयाँ नेताको रूपमा जसको नाम चर्चामा छ, उनीसँग धेरै मानिस परिचितसमेत नभएको भन्दै ट्रम्पले मोजतबाको चयनप्रति आफू खुसी नभएको बताएका छन्।

पुटिनसँग युक्रेन युद्धबारे छलफल
राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी भएको पनि जानकारी दिए। कुराकानीका क्रममा युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल भएको थियो।

ट्रम्पले भने, ‘युक्रेन युद्ध यस्तो सङ्घर्ष बनेको छ, जुन सकिने छाँटकाँट देखिँदैन। राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच गहिरो दुश्मनी छ र उनीहरू कुनै सम्झौतामा पुग्न सकिरहेका छैनन्। तर, मलाई लाग्छ पुटिनसँग यस विषयमा भएको कुराकानी सकारात्मक रह्यो।’

उनीहरूबीच मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको थियो। कुराकानीका क्रममा पुटिनले आफूले मध्यपूर्वमा मद्दत गर्न चाहेको बताएका थिए।

त्यसको जवाफमा ट्रम्पले पुटिनलाई भने, ‘यदि तपाईंले युक्रेन युद्ध अन्त्य गर्न मद्दत गर्नुभयो भने त्यो अझ बढी सहयोगी हुनेछ।’

रुसद्वारा इरानलाई समर्थन
यसैबीच, रुसी राष्ट्रपति पुटिनले सोमबार मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता बनेकोमा बधाई दिएका छन्।

पुटिनले बधाई दिँदै भनेका छन्, ‘रुस तेहरान (इरान) प्रति आफ्नो अटुट समर्थन र इरानी साथीहरूसँगको ऐक्यबद्धता दोहोर्याउँछ। हामी सधैँ एक भरपर्दो साझेदार बनिरहने वाचा गर्छौं।’

स्मरण रहोस्, अमेरिका र इजरायलले गत महिनाको अन्त्यमा इरानमाथि हमला गरेका थिए। त्यसयता मध्यपूर्वका देशहरूमा तनावको स्थिति कायमै छ।

फागुन २६, २०८२ मंगलबार ०८:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।