प्रहरीकै बर्दीमा एमाले मुख्यालयमा आगजनी गर्ने ‘जेनजी’ पक्राउ, साढे ९ करोड क्षतिपूर्ति मागदाबी

प्रहरीकै बर्दीमा एमाले मुख्यालयमा आगजनी गर्ने ‘जेनजी’ पक्राउ, साढे ९ करोड क्षतिपूर्ति मागदाबी

ललितपुर : जेन जी आन्दोलनको आवरणमा प्रहरीकै बर्दी लगाएर एमालेको केन्द्रीय कार्यालय च्यासल र सोही कम्पाउन्डमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा लुटपाट र आगजनी गर्ने एक जना मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका रौतहट जिल्ला बौधीमाई गाउँपालिका-१ स्थायी घर भई हाल ललितपुरको बालकुमारी बस्ने २६ वर्षीय जितेन्द्र प्रसाद पटेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आइतबार ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता गरिएको अभियोगपत्रमा पटेललगायत उनको समूहले एमाले मुख्यालय, बागमती प्रदेश कमिटी कार्यालय र तुल्सीलाल स्मृति प्रतिष्ठानमा गरी जम्मा ९ करोड ९९ लाख ३२ हजार ९ सय ९८ रुपैयाँ बराबरको क्षति पुर्याएको भन्दै सोही बराबरको क्षतिपूर्ति मागदाबी गरिएको छ।

अभियोगपत्रमा पटेलविरुद्ध आपराधिक उपद्रव, चोरी तथा एकीकृत कसुरअन्तर्गत हदैसम्मको सजाय माग गरिएको छ।

तत्कालीन एमाले नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध तथा बढ्दो भ्रष्टाचारको विरोधमा जेन जी प्रदर्शनले काठमाडौंमा प्रदर्शन गरेको थियो।

भदौ २३ गते सुरक्षाकर्मीसँगको झडपमा विद्यालय पोशाकमा रहेका विद्यार्थीसहित १९ प्रदर्शनकारीको मृत्यु भएपछि भदौ २४ गते भिड उत्तेजित बनेको थियो।

उत्तेजित भिडले च्यासलस्थित एमाले पार्टी कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान र वाग्मती प्रदेश कमिटी कार्यालयमा जबर्जस्ती प्रवेश गरी व्यापक तोडफोड र आगजनी गरेको थियो।

हजारौंको सङ्ख्यामा आएका प्रदर्शनकारीले सुरक्षामा खटिएका नेपाल प्रहरीमाथि ढुङ्गामुढा गरी प्रहरीको हातहतियार र सञ्चार सेटसमेत खोसेका थिए।

नक्कली प्रहरी बनेर लुटपाट
अनुसन्धानका क्रममा प्राप्त सीसीटीभी फुटेज र भिडियोहरूको विश्लेषणबाट एउटा गम्भीर तथ्य बाहिर आएको छ।

प्रदर्शनको क्रममा पक्राउ परेका अभियुक्त जितेन्द्र प्रसाद पटेलले नजिकै रहेको प्रहरी प्रभाग बालकुमारीबाट नेपाल प्रहरीको सहायक निरीक्षक (असई)को बर्दी र हवल्दारको पोसाक चोरेर लगाएका थिए।

प्रहरीकै पोशाकमा उनले भिडलाई थप उत्तेजित पार्दै एमाले पार्टी कार्यालय र तुल्सीलाल प्रतिष्ठानमा तोडफोड तथा लुटपाट मच्चाएका थिए।

उनले प्रहरी प्रभाग र एमाले कार्यालयबाट कम्प्युटरको मोनिटर, किबोर्ड, माउस, एडप्टर र मोबाइललगायतका महत्त्वपूर्ण सामानहरू चोरी गरी आफ्नो डेरामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

पटेलको बयान : ‘प्रहरीको बर्दी लगाएर फोटो खिच्न मन लाग्यो’
अधिकार प्राप्त अधिकारीसमक्ष पटेलले दिएको बयानमा आफूले तोडफोड र चोरी गरेको स्वीकार गरेका छन्।

उनले भनेका छन्, ‘म पनि जेन जी समूहकै युवा हुँ। भदौ २४ गते मेरो डेरानजिकै रहेको बालकुमारी प्रहरी प्रभाग र एमाले पार्टी कार्यालयमा तोडफोड भइरहेको देखेपछि म पनि त्यहाँ गएँ। मैले त्यहाँबाट प्रहरीको बर्दी र कम्प्युटरका सामानहरू चोरेर ल्याएँ।’

पटेलले अगाडि भनेका छन्, ‘भदौ २७ गते मलाई प्रहरीको बर्दी लगाएर फोटो खिच्न मन लाग्यो। मैले चोरेर ल्याएको असईको बर्दी लगाएर फोटो खिचेँ र मोबाइलमा सेभ गरेर राखेँ। कारखानाका मान्छेहरूले मलाई प्रहरीको पोशाकमा देखेपछि प्रहरीलाई खबर गरिदिएछन्। त्यसपछि असोज ६ गते सादा पोसाकका प्रहरी आएर मेरो कोठामा खानतलासी गरी चोरीका सामान र प्रहरीको पोसाकसहित मलाई पक्राउ गरेका हुन्।’

कहाँ कति क्षति?
अभियोगपत्रमा एमाले पार्टी कार्यालयमा ७ करोड ७४ लाख ८९ हजार ४२, तुल्सीलाल स्मृति प्रतिष्ठानमा १ करोड ६० लाख १४ हजार र एमाले बागमती प्रदेश कमिटी कार्यालयमा ६४ लाख २९ हजार ९ सय ५६ रुपैयाँ गरी ९ करोड ९९ लाख ३२ हजार ९ सय ९८ रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै उक्त रकम प्रतिवादी जितेन्द्र पटेल र पछि खुल्न आउने अन्य अभियुक्तहरूबाट असुलउपर गराउन अदालतसमक्ष माग गरिएको छ।

सरकारी वकिल कार्यालयले पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव र दफा २४१ तथा २४२ बमोजिम चोरी र डाँकाको कसुरमा सजायको माग गरेको छ।

यसका साथै, एउटै वारदातमा एकभन्दा बढी कसुर गरेकाले उनीमाथि दफा ४३ बमोजिम एकीकृत कसुरको दाबी लिइएको छ, जसअनुसार उनलाई अधिकतम सजायमा थप ५० प्रतिशत (डेढी) सजाय हुन सक्नेछ। साथै, अपराध पीडित संरक्षण ऐनअन्तर्गत पीडित राहत कोषमा क्षतिपूर्ति शुल्कसमेत जम्मा गराउन माग गरिएको छ।

फागुन २०, २०८२ बुधबार ११:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।