इजरायल-इरान युद्ध : पाकिस्तानमा ३४ प्रदर्शनकारीको मृत्यु, चार दिनमा भारतमा मात्र ११ सय अन्तर्राष्ट्रिय उडानहरू रद्द
एजेन्सी : अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्धमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युपछि पाकिस्तानमा भएको प्रदर्शनमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।
मृत्यु भएको खबर बाहिर आएको केही घण्टामै पाकिस्तानमा हजारौं क्रुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा पस्ने प्रयास गरेका थिए।
त्यस्तै, इस्लामाबादको कूटनीतिक क्षेत्रबाहिर उनीहरूको प्रहरीसँग झडप भएको छ। सुरक्षाकर्मीसँगको झडपमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने १२० भन्दा बढी घाइते भएका छन्।
०००
युद्धका कारण पश्चिम एसियाका ८ वटा देशले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन्।
फेब्रुअरी २८ देखि युद्ध सुरू भएयता भारतीय विमान सेवा कम्पनीहरूले मात्रै १ हजार ११७ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिसकेका छन्। उडानहरू रद्द हुँदा हजारौं यात्रुहरू विभिन्न देशका विमानस्थलमै अलपत्र परेका छन्।
दुबईबाट दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका यात्रुहरूले त्यहाँको भयावह अवस्था सुनाएका छन्।
फेब्रुअरी २८ मा दुबई पुगेका एक यात्रुले भने, ‘सुरूका दिनमा धेरै विस्फोटका आवाजहरू सुनिए। हामी २-३ दिनदेखि उडानको पखाइमा थियौँ।’
त्यस्तै, फेब्रुअरी २५ देखि दुबईमा फसेका अर्का यात्रुले भने, ‘हामी तीन दिनसम्म कोठामै थुनिएर बस्नुपर्यो। त्यहाँका सबै ठूला व्यापारिक केन्द्र र गतिविधि पूर्ण रूपमा बन्द थिए।’
यसैबीच, दुबईस्थित अमेरिकी वाणिज्य दूतावास परिसरमा विस्फोटपछि आगलागी भएको खबर छ। आगो निभाइएको भए पनि त्यहाँ धुवाँ उडेको देखेपछि मानिसहरू निकै त्रसित बनेका छन्।
विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने खतरा
इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ले होर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरिएको पुष्टि गर्दै त्यहाँबाट पार हुन खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै आपूर्ति हुने भएकाले यसको सोझो असर अन्तर्राष्ट्रिय बजारमा परेको छ।
कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल ८० डलरको हाराहारीमा पुगेको छ। अवस्था अझै बिग्रिएमा यसको मूल्य १०० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
अमेरिकी ऊर्जा प्रशासनका अनुसार यस मार्गबाट जाने अधिकांश तेल एसियाली देशहरू- चीन, भारत, जापान र दक्षिण कोरिया पुग्ने गर्छ।
यो मार्ग बन्द हुँदा तेल मात्र नभई जेट इन्धन र एलएनजीको आपूर्तिसमेत प्रभावित हुनेछ, जसले सम्पूर्ण विश्वको ऊर्जा आपूर्ति र अर्थतन्त्रलाई नै सङ्कटमा पार्न सक्ने खतरा बढेको छ।
फागुन २०, २०८२ बुधबार ०८:२३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।