लागुऔषध कारोबारमा संलग्न चार जना पक्राउ, एक जेनजी आन्दोलनका क्रममा फरार कैदी
काठमाडौं : जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित मंगलबार चार जनालाई नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल नेपालले सुनसरीको धरान उपमहानगरपालिका-१३ बस्ने ३३ वर्षीय थापालाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरिएको जनाएको छ।
लागुऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थापा जेनजी आन्दोलनका क्रममा फरार भएका सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।
निजसँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुरको लोकन्थली घर बताउने ३३ वर्षीय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षीया राशी गौतम र काठमाडौंको नक्साल घर बताउने २१ वर्षीय युनिक पोखरेललाई समेत नियन्त्रणमा लिइएको उनले बताए।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार अपराह्न लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत फेला बरामद गरिएको छ। नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको प्रवक्ता भट्टले बताए।
फागुन १९, २०८२ मंगलबार २०:३९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।