धनुषामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते
काठमाडौं : धनुषाको मिथिला नगरपालिका- ९ स्थित बडहरीमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्गमा पर्ने बडहरी पुलमाथि टेपले बेरिएर राखिएको उक्त वस्तुलाई हिँडिरहेका स्थानीय बालबालिकाको खुट्टाले छोएपछि विस्फोट भएको थियो।
विस्फोटमा परी मिथिला नगरपालिका-८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आशाको दुवै खुट्टामा र सुशीलको शरीरका विभिन्न अंगमा सामान्य चोट लागेको छ।
घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटना लगत्तै उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। विस्फोट भएको वस्तुको प्रकृतिबारे अहिलेसम्म यकिन भइनसकेको र यसबारे थप खोजी भइरहेको धनुषा प्रहरीको भनाइ छ।
यसैबीच, धनुषा र महोत्तरीको सिमानामा पर्ने रातो नदीको पुलमा समेत अर्को शंकास्पद वस्तु फेला परेको थियो। महोत्तरी प्रहरीका अनुसार उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
फागुन १९, २०८२ मंगलबार १८:५४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।