खाडी मुलुकका अमेरिकी दूतावासहरू बन्द

खाडी मुलुकका अमेरिकी दूतावासहरू बन्द

एजेन्सी : मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले खाडी मुलुकस्थित आफ्ना दूतावास तथा कूटनीतिक नियोगहरू बन्द गर्ने घोषणा गरेको छ। 

अमेरिकी विदेश विभागले तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ। साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मङ्गलबार देखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ। 

सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ। यस अघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुई वटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए।

कुवेत स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत अर्को सूचना जारी नभए सम्म सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ। अमेरिकी विदेश विभागले गैर-आवासीय कर्मचारी उनीहरूका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ।

विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारहरूलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराककालाई अनुरोधसमेत गरेको जनाइएको छ।

संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीव्र रूपमा  द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो। गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरहरूको मृत्यु भए पछि द्वन्द्व चर्किएको थियो।

प्रतिक्रियामा, इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ।

फागुन १९, २०८२ मंगलबार १८:३८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।