दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
प्रसाईंको गिरफ्तारी गैरकानूनी भएको दाबी गर्दै अधिवक्ता सुरेश बोहराले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त आदेश दिएको हो।
इजलासले विपक्षीहरूका नाममा 'कारण देखाउ' आदेश जारी गर्दै प्रसाईंलाई थुनामा राख्नुपर्ने आधार र कारण भए सबुद प्रमाण तथा अनुसन्धानको सक्कल मिसिलसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
अदालतको आदेशमा म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन भनिएको छ। निवेदकको तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल, अधिवक्ताहरू रेणुकादेवी सिटौला, पारसमणि फुयाँल र विकास भट्टराईले बहस गरेका थिए।
बहसपछि इजलासले थुनामा रहेका प्रसाईंलाई अदालतमा उपस्थित गराएपछि मात्र उनको थुनाको वैधानिकताका विषयमा थप सुनुवाइ अघि बढ्ने छ। 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ' अभियानका संयोजकसमेत रहेका प्रसाईंलाई निर्वाचन बिथोल्न खोजेको आरोपमा प्रहरीले गत आइतबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
प्रसाईंले यही फागुन २१ गते हुन लागेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए। अदालतमा लिखित जवाफसहित उपस्थित गराएपछि उनलाई थुनामुक्त गर्ने वा नगर्ने विषयको टुंगो लाग्नेछ।
फागुन १९, २०८२ मंगलबार १८:०७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।