धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
काठमाडौं : निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम समावेश भएको पुष्टि भएपछि आयोगले साहको उम्मेदवारी अयोग्य ठहर गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार साहविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको देखियो। धनुषा १ का निर्वाचन अधिकृत मनोज बरालले दाबी विरोधको समयमा प्राप्त उजुरीका आधारमा निर्णयका लागि आयोगमा पठाएको र आयोगको छानबिनबाट उनी कालोसूचीमा रहेको पुष्टि भएको जानकारी दिए।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार साह 'कमल निर्माण सेवा प्रालि' का शेयरधनी हुन्। उक्त कम्पनी र साहको नाम विभिन्न समयमा चेक बाउन्स सम्बन्धी बैंकिङ कसुरका कारण कालोसूचीमा परेको पाइएको छ। कानुनी प्रावधान अनुसार बैंकिङ कालोसूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।
फागुन १९, २०८२ मंगलबार १५:००:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।