जेनजी आन्दोलन : कान्तिपुर टेलिभिजनमा आगजनीको घटनामा नवीन कार्की र रास्वपा नेता संलग्न, दुवै फरार

जेनजी आन्दोलन : कान्तिपुर टेलिभिजनमा आगजनीको घटनामा नवीन कार्की र रास्वपा नेता संलग्न, दुवै फरार
तस्बिर :अजय हाकुजू/हिमालखबर

काठमाडौं : कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको तीनकुनेस्थित कार्यालयमा भएको आक्रमण, आगजनी र लुटपाटको घटनामा नवीन कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेता संलग्न रहेको दाबीसहित काठमाडौं जिल्ला अदालतमा ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० स्थायी घर भएका ४५ वर्षीय कार्कीलाई मुख्य अभियुक्त बनाउँदै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दायर गरेको हो। कार्की हाल फरार  छन्।

उता रास्वपाको भक्तपुर जिल्ला समितिका सह-सचिवसमेत सो घटनामा संलग्न रहेको अभियोग पत्रको विवरणमा उल्लेख छ। तर उनको परिचय खुलेको छैन। परिचय नखुलेकाले अभियोगपत्रमा रास्वपा भक्तपुरका सह-सचिव भनिए पनि नाम भने उल्लेख गरिएको छैन।

अभियोग पत्रमा उल्लेख भए अनुसार दुवै व्यक्ति कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहियाले घर, कान्तिपुर टेलिभिजन, कान्तिपुर दैनिक र कान्तिपुर रेडियोमा समेत तोडफोड र आगजनीमा संलग्न रहेको उल्लेख छ। यसमा कार्कीलाई अभियुक्त बनाइएको छ।

भदौ २४ गते बिहान अन्दाजी १० बजेको समयमा सुविधानगरस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा हुलहुज्जतसहित प्रवेश गरेको एक समूहले तोडफोड, लुटपाट र आगजनी गरेको थियो।

आन्दोलित भीड अराजक बन्दै कान्तिपुरको कार्यालयमा प्रवेश गरेको थियो। उक्त भीडले ईट्टा, ढुङ्गा प्रहार गर्नुका साथै पेट्रोल, डिजेल र मट्टितेलजस्ता प्रज्वलनशील पदार्थ प्रयोग गरी कार्यालयमा आगजनी गरेको अभियोगपत्रमा उल्लेख छ।

आक्रमणबाट कान्तिपुर टेलिभिजनको ६ तल्ले र ५ तल्ले दुईवटा भवनमा ठूलो क्षति पुगेको छ।

भवनको मूल गेट, कम्पाउन्ड रेलिङ, सिसाका झ्यालहरू फुटाइनुका साथै तेस्रो तलासम्मका सम्पूर्ण फर्निचर, स्टुडियोका उपकरण, उड फ्लोरिङ र वाइरिङ जलेर पूर्ण रूपमा नष्ट भएका छन्। साथै, दुई भवन जोड्ने फलामे र सिसाको पुलमा समेत क्षति पुगेको छ।

यसका अलावा आन्दोलनकारीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाको मण्डिखाटारस्थित निजी निवास र थापाथलीस्थित कान्तिपुर पब्लिकेसनको कार्यालयमा समेत तोडफोड र लुटपाट गरेको अभियोगपत्रमा उल्लेख छ।

कान्तिपुर टेलिभिजनका तर्फबाट अधिकारप्राप्त प्रमानन्द खनालले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनास्थलको सीसीटीभी फुटेज, सामाजिक सञ्जालमा अपलोड भएका भिडिओ र फोटोहरूको विश्लेषण गर्दा नवीन कार्कीको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ।

प्रहरीले बुझेका मानिस छिरिङ तामाङको कागज र कल डिटेल रेकर्डबाट पनि कार्कीको उपस्थिति र नेतृत्वदायी भूमिका खुलेको अभियोगपत्रमा उल्लेख छ। कार्कीले नै आन्दोलनकारीको भीडलाई उक्साएर सुनियोजित रूपमा कान्तिपुरका कार्यालयहरूमा आक्रमण गराएको निष्कर्ष निकालिएको छ।

सजाय र मागदाबी
सरकारी वकिल कार्यालयले अभियुक्त कार्कीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (२) को खण्ड (क) बमोजिमको ‘आपराधिक उपद्रव’ कसूर गरेको दाबी गरेको छ।

उक्त कसूरमा संहिताको दफा २८५ को उपदफा (३) को खण्ड (घ) बमोजिम **दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना**को माग गरिएको छ।

साथै, आगजनी र तोडफोडबाट भएको क्षतिको बिगोबमोजिमको क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा रकम जम्मा गराउनसमेत माग गरिएको छ। हाल क्षतिको यकिन मूल्याङ्कन प्राप्त नभइसकेकाले पछि प्राप्त भएपछि सोहीबमोजिम पेस गर्ने व्यहोरा अभियोगपत्रमा खुलाइएको छ।

फरार अभियुक्तको खोजी
घटनापछि फरार रहेका प्रतिवादी नवीन कार्कीलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी उनलाई अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको छ।

सहायक जिल्ला न्यायाधिवक्ता श्रीराम ओझाद्वारा हस्ताक्षर गरिएको उक्त अभियोगपत्रमा घटनामा संलग्न अन्य व्यक्तिको पहिचान भएमा उनीहरूविरुद्ध पनि पछि थप दाबी लिने बाटो खुला राखिएको छ।

फागुन १९, २०८२ मंगलबार १४:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।