शाओमीद्वारा वीरगञ्ज र जनकपुरमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालन
काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले मधेश प्रदेशका ग्राहकलाई लक्षित गर्दै वीरगञ्ज र जनकपुरमा आफ्ना दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीले फागुन १४ गते वीरगञ्जको आदर्शनगर र १५ गते जनकपुरको शिवचोकस्थित अर्भिट मलमा यी सेन्टरहरू उद्घाटन गरेको हो।
रमेश कर्पअन्तर्गतको टेलिडाइरेक्ट प्रा.लि.द्वारा सञ्चालित यी केन्द्रहरूबाट शाओमीका स्मार्टफोन, स्मार्टवाच, इयरफोन, हेडफोनलगायत विभिन्न आइओटी उपकरणहरूको मर्मत तथा प्राविधिक जाँच गरिनेछ।
कम्पनीका अनुसार ग्राहकले यहाँ तालिमप्राप्त प्राविधिकहरूबाट शतप्रतिशत आधिकारिक (जेनुइन) स्पेयर पार्ट्ससहितको भरपर्दो सेवा पाउनेछन्।
उद्घाटनको अवसरमा कम्पनीले विशेष छुटको समेत घोषणा गरेको छ। जसअनुसार सञ्चालनमा आएको मितिले एक महिनासम्म ग्राहकले सबै उपकरणमा निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेडको सुविधा पाउनेछन्।
त्यसैगरी, वारेन्टी सकिएका स्पेयर पार्ट्स र मर्मतमा २५ प्रतिशतसम्म छुट दिइनुका साथै वारेन्टी बाहिरका स्पेयर पार्ट्स फेर्दा कुनै पनि सर्भिस शुल्क नलाग्ने कम्पनीले जनाएको छ।
फागुन १९, २०८२ मंगलबार १३:१३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।