दक्षिण सुडानमा सुतिरहेका स्थानीयमाथि हतियारधारीको आक्रमण, बालबालिकासहित १६९ जनाको मृत्यु
एजेन्सी : दक्षिण सुडानमा भएको एक भीषण सशस्त्र आक्रमणमा परी कम्तीमा १६९ जनाको मृत्यु भएको छ।
आइतबार बिहान सबेरै मानिसहरू सुतिरहेको बेला उत्तरी क्षेत्रस्थित रुवेङ प्रशासनिक क्षेत्रमा अज्ञात समूहले गरेकाे आक्रमणमा वरिष्ठ सरकारी अधिकारीसहित ठूलो मानवीय क्षति भएको अधिकारीहरूले जनाएका छन्।
मृतकमध्ये ९० जना बालबालिका, महिला तथा वृद्ध छन्। यसका साथै आक्रमणमा ७९ जना क्षेत्रीय सुरक्षा बलका सदस्यहरूको पनि मृत्यु भएको छ। आक्रमणमा अन्य ५० जना घाइते भएका छन्। उनीहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ।
रुवेङका सूचना मन्त्री जेम्स मोन्युलुआक मिजोकका अनुसार दर्जनौं हतियारधारी युवाहरूकाे समूहले स्थानीय समयअनुसार आइतबार बिहान करिब ४:३० बजे अबिएम्नोम काउन्टीमा प्रवेश गरी अन्धाधुन्ध आक्रमण गरेका थिए।
आक्रमणकारीहरूले घर र बजारहरूमा आगो लगाइदिएका थिए भने सरकारी फौज र उनीहरूबीच झन्डै ३ देखि ४ घण्टासम्म भिडन्त भएको बीबीसीले उल्लेख गरेकाे छ। हाल सरकारी सुरक्षाबलले क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरिएको छ।
मन्त्री मिजोकले आक्रमणकारीहरू छिमेकी युनिटी राज्यबाट आएको र उनीहरू सुडान पिपुल्स लिबरेशन आर्मी इन अपोजिसन (एसपीएलए-आईओ)सँग सम्बन्धित रहेको आरोप लगाएका छन्। तर एसपीएलए-आईओले ले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ।
एएफपीका अनुसार उच्च हताहती र सुरक्षाको संवेदनशील अवस्थाका कारण आइतबार नै पीडितहरूलाई सामूहिक चिहानमा गाडिएको छ। गत वर्ष पनि अबिएम्नोम काउन्टीमै यस्तै घटनामा ४२ भन्दा बढी सर्वसाधारण मारिएका थिए।
हिंसा चर्किएपछि करिब एक हजार सर्वसाधारणले सुरक्षाका लागि संयुक्त राष्ट्रसंघीय मिसनको बेस क्याम्पमा शरण लिएका छन्। राष्ट्रसंघले यस हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दक्षिण सुडान पुनः पूर्ण गृहयुद्धमा फस्न सक्ने चेतावनी दिएको छ।
शान्ति सैनिकहरूले कम्तीमा २३ घाइतेलाई आपतकालीन उपचार उपलब्ध गराइरहेका छन्। युएनमिसकी कार्यवाहक प्रमुख अनिता किकी ग्बेहोले पछिल्लो ४८ घण्टामा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै तत्काल हिंसा रोक्न आह्वान गरेकी छन्।
यसअघि फेब्रुअरी ३ मा जोङलेई राज्यमा भएको हवाई आक्रमण र हिंसाका कारण स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था एमएसएफका २६ जना कर्मचारीहरू अझै बेपत्ता रहेका छन्।
सन् २०११ मा स्वतन्त्र बनेको दक्षिण सुडान गृहयुद्ध, गरिबी र भ्रष्टाचारसँग जुधिरहेको छ। सन् २०१८ मा राष्ट्रपति साल्भा किर र उनका प्रतिद्वन्द्वी रिएक माचारबीच भएको शक्ति बाँडफाँडको सम्झौता कार्यान्वयनमा समस्या देखिएपछि पछिल्लो समय देशभर हिंसात्मक घटनाहरू पुनः बढ्न थालेका छन्।
फागुन १९, २०८२ मंगलबार १३:२३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।