अमेरिका-इजरायल-इरान तनावमा अहिलेसम्म के-के भयो?
एजेन्सी : अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त र भीषण सैन्य कारबाहीले मध्यपूर्वको राजनीति र सुरक्षा व्यवस्थामा उथलपुथल ल्याएको छ।
आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको आधिकारिक पुष्टि भएसँगै स्थिति निकै तनावपूर्ण बनेको छ।
१. सर्वोच्च नेता खामेनी र उच्च नेतृत्व सखाप
इरानी सरकारी टेलिभिजनले ८६ वर्षीय सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ। सरकारी मिडियाले यसलाई ‘शहादत’को संज्ञा दिँदै देशमा ४० दिनको राष्ट्रिय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।
आक्रमणमा खामेनी मात्र होइन, नभएर उनका परिवारका सदस्य र इरानको शीर्ष नेतृत्व नै ठूलो संख्यामा मारिएका छन्। यसका अलावा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका शीर्ष कमाण्डर र रक्षामन्त्रीसहित करिब ४० उच्च अधिकारीहरू पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
२. इरानमा संक्रमणकालीन नेतृत्व गठन
खामेनीको मृत्युपछि देशमा शून्यता हुन नदिन इरानले तत्कालका लागि तीन सदस्यीय उच्चस्तरीय नेतृत्व (काउन्सिल) गठन गरेको छ। जसमा राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्य रहेका छन्। नयाँ सर्वोच्च नेता चयन नभएसम्म उनीहरूले नै देशको बागडोर सम्हाल्नेछन्।
३. सर्वसाधारण र बालबालिकाको मृत्यु
वासिङ्टनस्थित अधिकारवादी संस्थाका अनुसार आक्रमणमा कम्तीमा १३३ इरानी सर्वसाधारण मारिएका छन् भने २०० भन्दा बढी घाइते छन्।
संयुक्त राष्ट्रसंघमा इरानी दूतले दाबी गरेअनुसार दक्षिणी इरानको मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणमा १०० भन्दा बढी बालबालिकाको ज्यान गएको छ। यसलाई इरानले ‘युद्ध अपराध’ भनेको छ।
४. ट्रम्पको कडा चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमणलाई सफल भएको दाबी गर्दै अब कूटनीतिक समाधान सहज हुने बताएका छन्।
तर, उनले इरानलाई चेतावनी दिँदै भनेका छन्- ‘यदि इरानले बदला लिने प्रयास गरेमा हामी यस्तो शक्ति प्रयोग गर्नेछौं, जुन यसअघि कहिल्यै देखिएको थिएन।’ उनले इरानमा सत्ता परिवर्तनको संकेत पनि गरेका छन्।
५. यूएईमा मिसाइल वर्षा र एकको मृत्यु
इरानले जवाफी कारबाही स्वरूप प्रहार गरेका १३७ ब्यालेस्टिक मिसाइल र २०९ ड्रोनलाई यूएईले आकाशमै नष्ट (इन्टरसेप्ट) गरेको छ।
तर, ती मिसाइलका टुक्राहरू खस्दा अबुधाबी विमानस्थल नजिकै एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बुर्ज अल अरब र पाम जुमेराहमा पनि आगलागीका घटना भएका छन्। यूएईले सुरक्षाका कारण ३ दिनका लागि विद्यालयहरू बन्द गरेको छ।
६. हवाई यातायात ठप्प
युद्धको त्रासले खाडी र मध्यपूर्वको आकाश सुनसान बनेको छ। आइतबार मात्रै ७०० भन्दा बढी उडान रद्द भएका छन् भने शनिबार र आइतबार गरी हजारौं यात्रु अलपत्र परेका छन्। यूएई, कतार, साउदी अरेबियालगायतका देशका प्रमुख एयरलाइन्सहरूले उडान स्थगित गरेका छन्।
७. इरानको बदलाको कसम र अन्तर्राष्ट्रिय प्रतिक्रिया
इरानी सेनाले खामेनीको मृत्युलाई ‘विद्रोहको सुरुवात’ भन्दै अमेरिका र इजरायलसँग बदला लिने कसम खाएको छ।
उता, चीनले आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सैन्य कारबाही रोक्न अपिल गरेको छ। इरानका निर्वासित राजाका छोरा रेजा पहलवीले भने खामेनीको मृत्युलाई स्वागत गर्दै यसलाई 'इरानी जनताको उत्सव' भनेका छन्।
अहिले इरान शोकमा डुबेको छ भने विश्व समुदाय इरानको अबको कदम र सम्भावित ठूलो युद्धको खतरालाई लिएर चिन्तित बनेको छ।
फागुन १७, २०८२ आइतबार १३:३७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।