नवलपुरको हुप्सेकोटका मतदातालाई छैन पायक पर्ने मतदानस्थल

नवलपुरको हुप्सेकोटका मतदातालाई छैन पायक पर्ने मतदानस्थल

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता रहेको छ। 

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ। नवलपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्रका रोबहादुर रानालाई भने भोट हाल्न कसरी पुग्ने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ।

जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने यस वडामा रहेका दुईवटा मतदानस्थलमध्ये रुद्रपुरमा रहेको शिक्षा वोधनी आधारभूत विद्यालय पुग्न झण्डै १० किलोमिटरको यात्रा गर्नुपर्ने पाङ्गे्रका मतदाताको बाध्यता छ। यस मतदानस्थलमा मतदान गर्ने पाङ्गे्र र पाङ्गे्रघाटका मतदातालाई मतदानस्थल पुग्नै घण्टौँ समय लाग्ने गर्दछ।

पहाडी क्षेत्र त्यसमा पनि दश किलोमिटर टाढाको मतदानस्थलमा मतदान गर्न जान निकै समस्या हुने गरेको यहाँका स्थानीयको गुनासो छ। पाङ्गे्र र पाङ्गे्रघाटका मतदाता पोखरी हुँदै करिब १० किलोमिटरको दूरीमा रहेको मतदानस्थलमा मतदान गर्न जानुपर्ने बाध्यता छ।

मतदानको दिन सवारीसाधनसमेत नचल्ने र हिँडेरै पुग्नुपर्ने हुँदा यहाँका मतदातालाई मतदानका लागि बिहानै मतदानस्थल प्रस्थान गर्नुपर्ने बाध्यता छ।

“धेरै टाढा मतदान केन्द्र छ, हिँडेर जाँदा पहाडी क्षेत्रको बाटो तीनचार घण्टा लाग्छ, सवारी चल्दैन, सबैलाई मतदानस्थलसम्म पुग्न धेरै समस्या छ”, स्थानीय रानाले भने।

पहिले गाविसको चुनाव हुँदा पाङ्गे्रघाटमा भोट हाल्न सजिलो हुने गरेकामा पछि रुद्रपुर सारेपछि आफूहरूलाई समस्या भएको रानाले बताए। मतदानस्थल टाढा हुँदा धेरै हिँड्न नसक्नेहरू मतदान गर्नै नजाने अवस्था बन्ने गरेको उनले बताए।

“मतदानस्थल नजिक हुने गरी मिलाए आफूहरूलाई सजिलो हुने थियो, अलि हिँड्न गाह्रो हुने त कसरी भोट हाल्न पुग्लान खै”, उनले भने।

शिक्षा वोधनी आधारभूत विद्यालय रुद्रपुरमा रहेको मतदान केन्द्रमा वाकखोर, पोखरी, राम्चे, धौवादी, हर्दे, पाङ्गे्र , पाङ्गे्रघाट र धौलावसेनीका मतदाताले मतदान गर्छन्। पहाडी क्षेत्र भएकाले रुद्रपुरको मतदानस्थल सबैका लागि पायक पर्ने र छोटो दूरीको हुनसकेको छैन।

हर्दे, राम्चे र धौवादीका मतदाताबाहेक सबैलाई यो मतदानस्थल अपायक हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए। रुद्रपुरमा रहेको यस मतदानस्थलमा मतदान गर्ने मतदाताको सङ्ख्या ८४८ रहेको छ।

जिल्लाको पहाडी क्षेत्रका मतदानस्थल प्रायः सबैका लागि सहज पहुँच हुनसकेको छैन। भौगोलिक विकटता भएका क्षेत्रमा मतदानको सङ्ख्याका आधारमा मतदान केन्द्र तय गरिँदा धेरैका लागि दूरीका हिसाबले मतदान केन्द्र टाढा पर्ने गरेको छ।

नवलपुरमा ११४ मतदानस्थल र ३११ मतदान केन्द्र छन्। दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन्। जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी एक लाख ३७ हजार ८१ मतदाता छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२, महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन गरी एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन्।

फागुन १७, २०८२ आइतबार ११:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।