हिमपातले बाटो बन्द : हुम्लाका ४ मतदान केन्द्रमा हेलिकप्टरबाट ओसारिँदै कर्मचारी र मतपत्र
हुम्ला : हिमपातका कारण सडक र पैदल मार्ग अवरुद्ध भएपछि हुम्लाको नाम्खा गाउँपालिकास्थित चारवटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारीहरू हेलिकप्टरमार्फत ओसारिन थालिएको छ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार भौगोलिक विकटता र बाक्लो हिमपातका कारण यातायात सेवा ठप्प भएपछि निर्वाचन आयोगको स्वीकृतिमा हेलिकप्टरको प्रयोग गरिएको हो।
नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीमा भृकुटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हिमशिखर आधारभूत विद्यालय तथा वडा नम्बर ४, चालामा रहेको हिमालय आधारभूत विद्यालय गरी चार केन्द्रमा हेलिकप्टरमार्फत सामग्री ढुवानी हुँदैछ।
१०२ जना कर्मचारी र सुरक्षाकर्मी परिचालन
यी चार मतदान केन्द्रका लागि २० जना निर्वाचन कर्मचारी, नेपाली सेना, म्यादी प्रहरी र नेपाल प्रहरीसहित ८० जना सुरक्षाकर्मी गरी कुल १०२ जना जनशक्ति खटिएका छन्। प्रजिअ रेग्मीले आज र भोलि (दुई दिन) भित्र कर्मचारी, मतपत्र र अन्य निर्वाचन सामग्रीहरू सम्बन्धित केन्द्रमा पुर्याइने जानकारी दिए।
लिमी जाने मुख्य दुई नाका नारा र न्यालु लेकको सडकमा बाक्लो हिउँ जमेका कारण आवतजावत पूर्ण रूपमा बन्द छ। त्यसैगरी, चाला जाने घोडेटो बाटो पनि हिउँले पुरिएर अवरुद्ध भएको छ। भौगोलिक कठिनाइ र मौसमका कारण जिल्ला सुरक्षा समितिले यी मतदान केन्द्रहरूलाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ।
सुनखानी प्रावि (हल्जी)मा २ सय ९३, भृकुटी प्रावि (जाङ)मा २ सय ४७, हिमालय प्रावि (चाला)मा १ सय ५९ र हिमशिखर प्रावि (तील)मा १ सय ३२ गरी कुल ८ सय ३१ मतदाता रहेका छन्।
अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई मतदान केन्द्रसम्म ल्याउनका लागि सडक खुलाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।
फागुन १७, २०८२ आइतबार १०:२५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।