अमेरिका र इजरायलको इरानमाथि भीषण आक्रमण: नयाँ युद्धको सुरुवात हो?
एजेन्सी : अपरेसन एपिक क्युरी नाम दिएर अमेरिका र इजरायलले इरानको राजधानी तेहरानसहित विभिन्न स्थानमा 'ठूलो सैन्य कारबाही' गरिरहेको छ। इरानले पनि बदलामा इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको छ।
यो हमलासँगै अहिले मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। यस घटनासँग सम्बन्धित मुख्य विषयहरु :
१. आक्रमण कहाँ र कसरी भयो?
नेपाली समय अनुसार शनिवार बिहान इरानको राजधानी तेहरानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका थिए। त्यसमा तेहरानको युनिभर्सिटी स्ट्रिट, जम्हुरी क्षेत्र र इरानी रिभोलुसनरी गार्डको मुख्यालय नजिकै मिसाइल प्रहार भयो।
इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको कार्यालय नजिकै पनि आक्रमण भएको दाबीहरू आइरहेका छन्। तेहरानबाहेक कर्मनशाह, कोम, ताब्रिज, इस्फ़ाहान र इलम जस्ता शहरहरूमा पनि विस्फोट भएका छन्।
२. ट्रम्पको उद्देश्य के हो?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अपरेसन जारी रहने" बताए। उनले अमेरिकी सैन्य अभियानका मुख्य ४ उद्देश्यहरू सार्वजनिक गरेका छन्। त्यसमा इरानको मिसाइल क्षमतालाई ध्वस्त पार्ने, इरानी नौसेनालाई समाप्त पार्ने, इरान समर्थित सशस्त्र समूहहरूलाई निस्तेज पार्ने र इरानलाई परमाणु हतियार बनाउनबाट रोक्ने बताइएको छ।
"जब हामी यो काम सक्छौँ, तब आफ्नो सरकार आफैँ सम्हाल्नुहोस्। यो तपाईँहरूको लागि पुस्तौँपछिको एउटै अवसर हुन सक्छ," ट्रम्पले इरानी जनतालाई सम्बोधन गर्दै भनेका छन्।
३. इरानको जवाफी हमला
उता इरानले पनि अमेरिका र इजरायलले गरेको हमलामा चुपचाप सहेर नबस्ने चेतावनी दिँदै तत्कालै जवाफी हमला सुरु गरेको छ। इरानले उत्तरी इजरायलका विभिन्न भागमा मिसाइल प्रहार गरेको छ भने त्यहाँ चेतावनीका साइरनहरू बजिरहेका छन्।
इरानले कतार (अल उदेद), कुवेत (अल सालेम), संयुक्त अरब इमिरेट्स (अल धाफ्रा) र बहराइनमा रहेको अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयमा मिसाइल प्रहार गरेको छ।
४. किन भयो यो आक्रमण?
ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच परमाणु कार्यक्रमबारे वार्ता भइरहेको बेलामा एकाएक यो आक्रमण भएको हो। इरानले आफ्नो युरेनियम भण्डारण शून्यमा झार्ने सहमति जनाएको चर्चाकाबीच सैन्य कारबाही सुरु भएको हो।
इजरायल र अमेरिकाले इरानको परमाणु कार्यक्रमलाई आफ्नो अस्तित्वका लागि खतरा मान्दै आएका छन्। यसअघि सन् २०२५ जुनमा पनि यी दुई देशले इरानी सैन्य कमान्डरहरूको हत्या र परमाणु केन्द्रमा आक्रमण गरेका थिए।
५. विश्वको प्रतिक्रिया: को कता?
कतार र युएईले इरानी आक्रमणको निन्दा गर्दै यसले क्षेत्रीय सार्वभौमिकता उल्लंघन गरेको बताएका छन्। फ्रान्स र युरोपेली संघले तनाव तत्काल रोक्न र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका छन्।
रुसले अमेरिकाले वार्तालाई केवल "आक्रमणको बहाना" बनाएको आरोप लगाएको छ। ओमानले मध्यस्थकर्ता ओमानले अमेरिकालाई यो युद्धको भुमरीमा थप नफस्न चेतावनी दिएको छ।
अहिलेसम्म इरानका सर्वोच्च नेता खामेनी कहाँ छन् भन्ने प्रस्ट भएको छैन, तर राष्ट्रपति मसुद पेजेस्कियान सुरक्षित रहेको बताइएको छ। दुवैतर्फ भएको मानवीय र भौतिक क्षतिको आधिकारिक विवरण आउन बाँकी छ।
फागुन १६, २०८२ शनिबार २२:२३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।