‘अंकल म बाँच्न चाहन्छु, बचाउनु न प्लिज!’ १३ वर्षीया बालिकाले मृत्युअघि स्कुल ड्रेसमै गरेको याचना सम्झिरहेका डा. मोहन
अस्पतालको आकस्मिक कक्ष। वातावरण तनावपूर्ण थियो। एउटा बेडमा १३ वर्षीया बालिका मृत्युसँग संघर्ष गरिरहेकी थिइन्। विषको असरले शरीर शिथिल बन्दै थियो, तर बाँच्ने उत्कट चाहना उनको आँखामा प्रष्ट देखिन्थ्यो।
पीडाले छटपटाउँदै उनले ड्युटीमा रहेका डाक्टरतिर हेरेर रुँदै भनिन्, ‘अंकल म बाँच्न चाहन्छु, मलाई बचाउनु न प्लिज... मलाई धेरै गाह्रो भयो।’
यो हृदयविदारक दृश्य र त्यो रातको चित्कार बालरोग विशेषज्ञ डा. मोहन साउँदको कानमा आज पनि उत्तिकै ताजा भएर गुञ्जिरहन्छ। आईसीयू र भेन्टिलेटरको अभाव, रातको समय र भौगोलिक बाध्यताका कारण अस्पतालको शय्यामा छटपटाएकी ती बालिकालाई बचाउन सम्भव भएन।
बिरामी बचाउने सपना बोकेर चिकित्सा क्षेत्रमा होमिएका डा. मोहनका लागि यो घटना एउटा कहिल्यै नमेटिने घाउ बन्यो। तर, यही र यस्तै पीडादायी अनुभवहरूले उनलाई सुदूरपश्चिममा स्वास्थ्य सेवाको मुहार फेर्ने अठोट दिलायो।
एक चौकीदारको छोराको डाक्टर बन्ने सपनादेखि सयौंलाई रोजगारी दिने र हजारौंको ज्यान बचाउने अस्पताल सञ्चालक बन्नसम्मको डा. मोहनको यात्रा उनले उकेरासँग साटेका छन्:
त्यो रातको विवशता र बालिकाको मृत्यु
डा. मोहनको चिकित्सकीय यात्राका पाना पल्टाउँदा १५ वर्षअघिको त्यो दुःखान्त घटना सधैं अगाडि आउँछ। जतिबेला उनी एमबीबीएस सकेर कैलालीको धनगढीस्थित तत्कालीन सेती अञ्चल अस्पतालमा छात्रवृत्ति करारमा काम गरिरहेका थिए।
एक साँझ अस्पतालको आकस्मिक कक्षमा करिब १३ वर्षकी बालिकालाई ल्याइयो। उनी ‘स्कुल ड्रेस’मै थिइन्। जाँचबुझ गर्दा थाहा भयो- उनले विष सेवन गरेकी रहिछन्।
पहाडको गाउँमा सरकारी शिक्षक रहेका उनका बुवाआमाले छोराछोरीको राम्रो भविष्यको लागि टीकापुरमा कोठा लिएर पढाएका रहेछन्।
करिब १७ वर्षका दाइ र ती १३ वर्षीया बहिनी टीकापुरमा सँगै बस्थे। दाजु-बहिनीबीच सामान्य विवाद हुँदा दाजुले गाली गरेछन्। त्यही आवेगमा ती अबोध बालिकाले विष सेवन गरिछिन्।
अस्पताल ल्याउँदा उनको अवस्था गम्भीर थियो। डा. मोहनसहितको चिकित्सक टोलीले तत्काल प्राथमिक उपचार सुरू गर्यो। बालिकाको अवस्था यस्तो थियो कि उनलाई तत्काल आईसीयू र भेन्टिलेटरको आवश्यकता थियो।
विडम्बना, तत्कालीन सेती अञ्चल अस्पतालमा न आईसीयू थियो, न त भेन्टिलेटर। चिकित्सकको टोलीले आफन्तलाई बिरामीको अवस्थाबारे जानकारी गराउँदै तत्काल सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध गर्यो।
तर, रात परिसकेको थियो। बालिकाका बुवाआमा पहाडमा थिए, तत्काल आउन सक्ने अवस्था थिएन। साथमा रहेका दाजु र अन्य आफन्तले रातको समयमा अन्यत्र लैजान नसकिने भन्दै भोलिपल्ट बिहान मात्रै लैजाने अडान लिए।
डा. मोहन र उनको टोलीले धेरै सम्झाउने प्रयास गरे, तर आफन्तको बाध्यता र निर्णयका अगाडि उनीहरूको केही लागेन।
त्यो रात डा. मोहनका लागि निकै भारी बन्यो। उनी एक झप्को नसुती रातभर ती बालिकाको उपचारमा खटिए। अक्सिजन दिएर, सम्भव भएसम्मका औषधि चलाएर उनलाई बचाउने हरसम्भव प्रयास गरिरहे।
विषको असर बढ्दै जाँदा बालिका रातभर रोइन्, कराउन र चिच्याइन्। त्यही क्रममा उनले डा. मोहनतिर हेर्दै ‘अंकल मलाई बचाउनुस्’ भन्दै गरेको अनुनयले डाक्टरको मन छियाछिया बनायो।

बिहानीपख, डा. मोहनकै आँखा अगाडि ती बालिकाको प्राण गयो। बचाउने अनेकौं प्रयासका बाबजुद स्रोत साधनको अभावमा एक कलिली बालिकाले संसार छोड्नुपर्दा डा. मोहन निरीह बने। उनका आँखाबाट आँसु खसे। उनले मनमनै भने, ‘माफ गर नानी। तिम्रो स्वर्गबास होस्।’
भोलिपल्ट बिहानै बालिकाका बुवाआमा अस्पताल आइपुगे। तर, छोरीलाई जीवित भेट्न पाएनन्। सेतो कात्रोमा बेरिएकी छोरीको शव देख्दा उनीहरू मुर्छा परे। अस्पतालबाट शव उठाउँदा डा. मोहनलगायत सम्पूर्ण स्वास्थ्यकर्मीको मन थामिएन।
आज पनि त्यो घटना सम्झँदा डा. मोहनको छाती भारी हुन्छ। त्यही घटनाले उनलाई बालरोग विशेषज्ञ बन्ने प्रेरणा दियो र बालबालिकाको पहुँचमा विषादी राख्न नहुने सन्देश फैलाउन प्रेरित गर्यो।
दिउँसो भर्भराउँदो अनुहार, बेलुका आफैँले शव चिर्नुपर्दा...
सेती अञ्चल अस्पतालको बसाइका क्रममा डा. मोहनले अर्को एउटा यस्तो घटना भोगे, जसले जीवनको क्षणभंगुरतालाई नजिकबाट देखायो। घटना करिब १५ वर्ष अघिकै हो।
काठमाडौंबाट २८ वर्षीया एक महिला भाइको विवाहका लागि कैलाली पुगेकी थिइन्। दुई छोराछोरीकी आमा उनी विवाहको चहलपहलमा रमाइरहेकी थिइन्।
एक दिन उनी शहरको ‘ब्यूटी पार्लर’मा ‘मेकअप’ गरेर रिक्सामा विवाहघर फर्किँदै थिइन्। बाटोमा रिक्सा चिप्लियो र उनी लडिन्। बाहिरबाट हेर्दा टाउकोमा ठूलो चोट देखिएन, तर उनलाई रिँगटा लाग्ने र वान्ता हुने जस्ता समस्या देखियो। केही गम्भीर समस्या पो भयो कि भनेर उनी हिँड्दै अस्पताल पुगिन्।
ड्युटीमा डा. मोहन नै थिए। भाइको विवाहको लागि सजिएकी ती महिला बडो भर्भराउँदी र सुन्दर देखिन्थिइन्। डा. मोहनले स्वास्थ्य जाँच गरे।
एक्स-रे गरेर हेर्दा कान नजिकको ‘कन्चट’मा सानो चोट देखियो। तर, भित्री चोट कति गहिरो छ भन्ने थाहा पाउन ‘सिटी स्क्यान’ नै गर्नुपर्ने थियो। अस्पतालमा त्यो सुविधा नभएकाले डाक्टरले उनलाई तत्काल सुविधासम्पन्न अस्पतालमा ‘रिफर’ गरे।
परिवारले तुरुन्तै उनलाई भारतको लखनउ लैजाने तयारी गरे। तर, अस्पताल नपुग्दै बाटोमै ती महिलाको निधन भयो। दुर्घटनाका कारण मृत्यु भएकाले कानुनी प्रक्रियाका लागि शवको पोष्टमार्टम गर्नुपर्ने भयो। शव फिर्ता ल्याएर सेती अञ्चल अस्पताल नै पुर्याइयो।

विडम्बनाको कुरा, बिहान जुन महिला आफैँ हिँडेर, बोल्दै र मुस्काउँदै डा. मोहनकहाँ जाँच गराउन आएकी थिइन्, बेलुका उनैको शव डा. मोहनकै अगाडि पोष्टमार्टम टेबलमा थियो।
बिहान भर्भराउँदो देखेको त्यो शरीरलाई बेलुका चक्कुले चिर्नुपर्दा डा. मोहनका हात कामे। उनको मन गह्रौँ भयो। तर, चिकित्सकीय पेशाको धर्म निभाउनै पर्थ्यो। उनले भारी मनले पोष्टमार्टम गरेर शव परिवारलाई जिम्मा लगाए।
ती १३ वर्षीया बालिका र २८ वर्षीया महिला मात्र होइन, स्रोत साधनको अभाव र समयमा उपचार नपाउँदा अकालमा मृत्यु भएका कयौं बिरामीको पीडाले डा. मोहनको मन सधैँ पोल्थ्यो।
चौकीदार बुवाको सपना र छोराको संघर्ष
डा. मोहन साउँदको व्यक्तिगत जीवन पनि कम संघर्षपूर्ण छैन। वि.सं. २०४० मा अछामको बान्नीगढी गाउँपालिका-३ धारासैनमा जन्मिएका मोहनको परिवार उनी दुई वर्षको हुँदा कैलालीको टीकापुर बसाइँ सरेको थियो।
सामान्य लेखपढ गरेका उनका बुवा भारतमा ‘चौकीदार’ को काम गर्थे। बुवाआमा भारतमै बस्ने भएकाले मोहनले एसएलसीसम्मको पढाइ टीकापुरको खड्ग मेमोरियल बोर्डिङ स्कुलको होस्टलमा बसेर पूरा गरे। २०५५ सालमा अब्बल अंकसहित एसएलसी पास गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए।
ललितपुरको युनाइटेड एकेडेमीबाट प्लस टु सकेपछि उनको जीवनको लक्ष्य डाक्टर वा इन्जिनियर बन्ने थियो। तर, देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो। सुरक्षा जोखिमका कारण उनी बुवाआमासँगै भारत गएर बस्न थाले र उतै डाक्टरी पढाइको प्रवेश परीक्षाको तयारी गरे।
अथक मेहनतको फलस्वरुप उनले एमबीबीएसका लागि पूर्ण सरकारी छात्रवृत्तिमा नाम निकाल्न सफल भए। यो खबर उनका लागि जीवनकै सबैभन्दा ठूलो खुसी थियो। उनले तुरुन्तै भारतमा रहेका बुवालाई फोन गरेर यो खुसी सुनाए।
तर, सामान्य लेखपढ मात्र गरेका बुवालाई ‘छात्रवृत्तिमा नाम निस्कनु’ कति ठूलो उपलब्धि हो भन्ने हेक्का थिएन। निरक्षर आमालाई त झन् यो विषयको ज्ञान हुने कुरै भएन। बुवाआमाले यसलाई सामान्य रुपमा लिए पनि मोहनका लागि यो सपनाको उडान थियो।
सन् २००३ मा काठमाडौं मेडिकल कलेजमा भर्ना भएर उनले सन् २००८ मा एमबीबीएस पूरा गरे। सरकारी छात्रवृत्तिमा पढेवापत उनले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने भयो, जसले उनलाई पुनः सुदूरपश्चिमको सेती अञ्चल अस्पताल पुर्यायो।
आफ्नै बुवालाई बचाउन नसक्दाको पीडा
सेती अञ्चल अस्पतालमा काम सुरू गरेको दुई महिना मात्र भएको थियो। त्यही समयमा उनका बुवा सिकिस्त बिरामी परे। बुवालाई सुगरलगायतका समस्या थिए। भारतमा हेरचाह गर्न गाह्रो भएपछि बुवालाई काठमाडौं ल्याएर उपचार सुरू गरियो। यता डा. मोहन अस्पतालमा बिरामीको सेवामा खटिरहेका थिए, उता काठमाडौंमा बुवा जीवनमरणको दोसाँधमा थिए।
एक दिन अस्पतालमा ड्युटीमै रहेका बेला भाइको फोन आयो। आत्तिँदै भाइले भने, ‘दाइ, बुवा त बित्नुभयो।’

हृदयघातका कारण बुवाको निधन भएको खबरले डा. मोहनको खुट्टा मुनिको जमिन भासिएजस्तै भयो। एकछिन त उनी शून्य भए। अस्पतालमा अरूका बुवाआमा र छोराछोरी बचाइरहेका डाक्टरले आफ्नै बुवालाई बचाउन सकेनन्। बुवाले धर्ती छोड्ने अन्तिम क्षणमा उनी साथमा हुन पनि पाएनन्।
बुवाको मृत्युको खबर पाएपछि उनी हवाईजहाजमार्फत काठमाडौं आएर अन्तिम संस्कारमा सहभागी भए। बुवाकै पसिना र मेहनतले उनी डाक्टर बनेका थिए। तर, डाक्टर बनेर कमाएको एक रुपैयाँ पनि बुवालाई खुवाउन नपाएको पीडा उनको मनमा आज पनि खट्किरहन्छ।
‘मेरा बुवाले लेबर काम गरेर मलाई डाक्टरसम्म पढाउनुभयो, तर मैले उहाँलाई आफ्नो कमाइ खुवाउन र प्रगति देखाउन पाइनँ’, डा. मोहन भावुक हुँदै भन्छन्।
सिमानाको सास्ती र अस्पतालको सपना
सेती अञ्चल अस्पतालमा काम गर्दा उनले देखेको अर्को विडम्बना थियो- सिमानाकाको ठगी। त्यतिबेला सुदूरपश्चिममा सिटी स्क्यान, एमआरआई जस्ता सामान्य सुविधा पनि थिएनन्। विशेषज्ञ चिकित्सकको अभाव थियो। जसका कारण बिरामीहरू उपचारका लागि भारतको सीमावर्ती शहरहरूमा जान बाध्य थिए।
उपचारका लागि भारत जाने सोझा नेपालीहरू सिमानामा रहेका नक्कली स्वास्थ्यकर्मीबाट लुटिन्थे। डाक्टर नै नभएका व्यक्तिहरूले ‘म डाक्टर हुँ’ भन्दै गलत उपचार गरेर पैसा असुल्ने र बिरामीको अवस्था झन् बिगार्ने गर्थे। पैसा सकिएपछि उपचार नपाएर अलपत्र परेका र मृत्युवरण गरेका कयौं नेपालीको पीडा डा. मोहनले नजिकबाट देखेका थिए।
यही पीडा र अभावले उनको मनमा एउटा सपना रोप्यो- ‘भविष्यमा यही ठाउँमा एउटा राम्रो अस्पताल खोल्न पाए बिरामीले यस्तो दुःख पाउने थिएनन्।’
धरानको अठोट र ‘माया मेट्रो’को जन्म
दुई वर्षे सेवा अवधि सकेपछि डा. मोहन थप अध्ययनका लागि काठमाडौं फर्किए। उनले चिकित्सा शास्त्रको स्नातकोत्तर (एमडी) तहमा बालरोग विषय अध्ययन गर्ने निधो गरे।
पुनः सरकारी छात्रवृत्तिमै नाम निकालेर उनी सन् २०१२ मा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए। सन् २०१५ मा उनको एमडी अध्ययन सकियो।
एमडी पढ्दै गर्दा उनले आफ्नो पुरानो सपनालाई आकार दिने योजना बुने- ‘पढाइ सकेपछि सुदूरपश्चिममै गएर अस्पताल खोल्ने। नसके क्लिनिक भए पनि चलाएर सेवा दिने।’
उनको सोच स्पष्ट थियो- बिरामीले आफ्नै ठाउँमा उपचार पाउँछन् र सेवा गरेवापत थोरबहुत आम्दानी पनि हुन्छ।
तर, एमडी सक्दा उनको खल्ती रित्तो थियो। कमाइ गरेर खर्च दिने बुवाको निधन भइसकेको थियो। आर्थिक रूपमा उनी शून्यमा थिए। तर, उनको सपना र अठोट बलियो थियो।

धरानमा सँगै पढेका साथीहरू, सिनियर चिकित्सकहरू र केही आफन्तले उनको योजनामा साथ दिए। सबैले थोरै-थोरै पैसा जम्मा गरेर १० जनाको टिम बन्यो। पैसा नभएका डा. मोहनले सुरूमा एक जनासँग दुई लाख रुपैयाँ ऋण लिएर लगानी गरे।
यसरी कैलालीको धनगढीमा ‘माया मेट्रो अस्पताल’को जन्म भयो। सुरूमा सानो लगानीबाट सुरू भएको यो अस्पताल अहिले सुदूरपश्चिमकै एक भरपर्दो स्वास्थ्य संस्था बनेको छ। हाल अस्पतालमा ४० जना विशेषज्ञ चिकित्सकसहित करिब साढे तीन सय जनाले रोजगारी पाएका छन्।
एक चौकीदारको छोरा, जसले अभाव र गरिबीलाई नजिकबाट भोग्यो, जसले स्रोत साधन नहुँदा बिरामी मरेको टुलुटुलु हेर्न बाध्य भयो, आज उसैको नेतृत्वमा सञ्चालित अस्पतालले हजारौंलाई जीवनदान दिइरहेको छ।
डा. मोहन साउँद अहिले अस्पतालको मेडिकल डाइरेक्टरका रूपमा नेतृत्व गरिरहेका छन्।
विगतका ती तीठा अनुभवहरू, विष सेवन गरेकी बालिकाको चित्कार र सिमानामा लुटिने बिरामीहरूको पीडाले नै उनलाई आजको यो स्थानसम्म ल्याइपुर्याएको हो।
फागुन १६, २०८२ शनिबार १३:३३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।