ज्वरोले थलियो मुगुको नर्खजी : चार सयभन्दा बढी बिरामी, स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै

ज्वरोले थलियो मुगुको नर्खजी : चार सयभन्दा बढी बिरामी, स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै

मुगु : मुगुको खत्याड गाउँपालिका-९ नर्खजी गाउँमा केही दिनयता फैलिएको भाइरल ज्वरोका कारण चार सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। फागुन ७ गतेदेखि सुरु भएको यो संक्रमण नर्खजीका चारवटा बस्तीमा फैलिएको स्थानीयले जनाएका छन्।

ज्वरोका कारण बालबालिका, महिला तथा वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। 

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालका अनुसार करिब ३०० जना बिरामीको प्रारम्भिक परीक्षण गरिएको छ। संक्रमण छिमेकी बस्तीहरूमा समेत फैलिन सक्ने जोखिम देखिएको छ।

गाउँमा रहेको नर्खजी स्वास्थ्य चौकीमा जनशक्ति र औषधिको अभाव देखिएको छ। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टरसहितको टोली गाउँ पुगे पनि रोग नियन्त्रणमा आउन सकेको छैन। उपचारमा खटिएको टोली फागुन १२ गते फर्किसकेको छ भने हाल एक जना स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचार गरिरहेका छन्।

स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी नयाँ बिरामी उपचारका लागि आउने गरेका छन्। हाल स्वास्थ्य चौकीमा सिटामोल लगायतका अत्यावश्यक औषधि कम मात्रामा रहेको र पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ।

"गाउँपालिकालाई जानकारी गराइसकेका छौं। औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ," उनले भने, "स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्र बाँकी रहेको र आफूसहित एक जना मात्रै स्वास्थ्यकर्मी हुँदा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिनाइ भएको छ।"

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार ज्वरोका कारण सबै उमेर समूह प्रभावित भएका छन् र औषधिको अभाव देखिएको छ। उनले ५० जनालाई खोपसमेत लगाइएको बताए।

स्वास्थ्यकर्मी स्वयं ज्वरोबाट प्रभावित भएपछि टोली फर्किनुपरेको भन्दै डा. धितालले समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने बताए। विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उनको भनाइ छ। ज्वरो छिमेकी बस्तीमा फैलिने जोखिमसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

गाउँमा ज्वरोको प्रकोप बढिरहेका बेला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँमा पुगिरहेका भए पनि औषधि र स्वास्थ्य जनशक्ति अभाव समाधानका लागि ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा औषधि पठाइसकिएको भए पनि बिरामी संख्या बढेपछि अभाव भएको हो। दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्समार्फत ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

जिल्ला अस्पताल मुगुसँग आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका लागि मौखिक आग्रह गरिएको भए पनि सकारात्मक जवाफ नआएको रावलले बताए।

यता जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आए उपलब्ध औषधि पठाउन सकिने बताएका छन्। साथै भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य टोली परिचालन गरिएको उनले जानकारी दिए।

फागुन १४, २०८२ बिहीबार १७:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।