नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको '३ आर' चित्रकथा सार्वजनिक
काठमाडौं : स्थापनाको ४० औँ वार्षिकोत्सवको अवसरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबार वातावरणीय सचेतना जगाउने उद्देश्यले ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ।
विगत ८ वर्षदेखि प्रकाशन हुँदै आएको चित्र पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङ जस्ता गम्भीर विषयलाई सरल शैलीमा प्रस्तुत गरिएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणीय संरक्षण र वित्तीय साक्षरतालाई प्राथमिकता दिएको छ।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आगामी दिनमा बैंकलाई थप पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सेयरधनी, नियामक निकाय र ग्राहकहरूको निरन्तर विश्वासका कारण बैंक यो स्थानसम्म आइपुगेको बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक सेवालाई सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक केन्द्रित रहने जानकारी दिए। उनले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारालाई आत्मसाथ गर्दै नवीनतम बैंकिङ सेवाहरू प्रदान गरिने उल्लेख गरे।
वार्षिकोत्सवकै अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ, जसमा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो। हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले देशभर २६९ शाखा, २५७ एटिएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
फागुन १४, २०८२ बिहीबार १७:४९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।