चितवनको मुसहर बस्ती : चुनावको उल्लास होइन, उपेक्षाको सन्नाटा

चितवनको मुसहर बस्ती : चुनावको उल्लास होइन, उपेक्षाको सन्नाटा
फाइल तस्बिर

चितवन : देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन।

रत्ननगर नगरपालिका-८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ। २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउँछन्।

उनले भनिन्, “अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेदवार आउनु भएको छैन।” अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउँथे। तर यस पटक कोही नआएको उनले बताइन्। 

यस पटकको निर्वाचनमा यहाँका स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने सम्म थाहा छैन। मतदान नजिकिए पनि यहाँ मतदाता शिक्षा स्वयंसेवक आइनपुगेको उनले गुनासो गरिन्।

ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्दैनन्। उनलाई मतदान गर्ने रुचि समेत देखिन्न। 

उनीले भन्छन्, “मलाई मतदान गर्ने इच्छा नै छैन, केको निर्वाचन लाग्नु।” आफूले ‘प्लस टू’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आएका उनी रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको बताउँछन्।

कक्षा १२ सकेर घरमै सीप सिक्दै आएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरूले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गरिन्। उनले भनिन्, “हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन।” 

फागुन १४, २०८२ बिहीबार १४:५९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।