सामसङको नयाँ ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक: ‘प्राइभेसी डिस्प्ले’ र क्यामेरामा सुधार, तर ब्याट्री क्षमता उस्तै
एजेन्सी : सामसङले आफ्नो नयाँ फ्ल्यागसिप फोन ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गरेको छ। प्रविधि क्षेत्रमा निकै चर्चामा रहेको यो फोनमा प्राइभेसी डिस्प्ले जस्ता नयाँ र आकर्षक फिचर भए पनि कतिपय पक्षमा यसले प्रयोगकर्तालाई निराश बनाएको छ।
एस२६ अल्ट्राको सबैभन्दा ठूलो आकर्षण यसको प्राइभेसी डिस्प्ले हो। यसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न मद्दत गर्छ।
प्राइभेसी मोड अन गर्दा स्क्रिनको ‘भ्युइङ एङ्गल’ कम हुन्छ, जसले गर्दा छेउबाट कसैले तपाईंको स्क्रिनमा के छ भनेर हेर्न सक्दैन। यसमा प्रयोगकर्ताले कुन एप चलाउँदा (जस्तै: बैंकिङ एप वा म्यासेन्जर) प्राइभेसी मोड स्वतः अन हुने भनेर सेटिङ मिलाउन सक्छन्।
यद्यपि, यो फिचर प्रयोग गर्दा स्क्रिनको ब्राइटनेस र रिजोलुसन केही कम हुने देखिएको छ। साथै, प्राइभेसी मोड अफ गर्दा पनि एस२५ अल्ट्राको तुलनामा एस२६ अल्ट्राको डिस्प्ले केही फिक्का र ‘ब्लु टिनट’ देखिएको केही समीक्षकहरूको भनाइ छ।
सामसङले एस२६ अल्ट्रालाई अहिलेसम्मकै सबैभन्दा पातलो अल्ट्रा फोन (७.९ मिलिमिटर) बनाएको छ। यसअघि टाइटेनियम बडी प्रयोग गरेको सामसङले यसपटक फेरि एलुमिनियम बडीमै फर्किएको छ, जसले गर्दा फोन केही हलुका भएको छ। फोनका कुनाहरू अघिल्लो मोडेलको तुलनामा गोलाकार बनाइएको छ, जसले गर्दा हातमा समाउन सजिलो हुन्छ।
बाहिरबाट हेर्दा क्यामेरा सेन्सर उस्तै देखिए पनि यसमा केही महत्त्वपूर्ण सुधारहरू गरिएको छ। कम प्रकाशमा पनि उत्कृष्ट फोटो र भिडियो खिच्नका लागि अपर्चरलाई फराकिलो बनाइएको छ। नयाँ एआई प्रविधिले फोटो र भिडियोमा आउने ‘नोइज’ कम गर्दै तस्बिरलाई थप स्पष्ट र प्राकृतिक बनाउँछ।
भिडियोका लागि ‘सुपर स्टेडी मोड’ मा ‘होरिजोन्टल लक’ थपिएको छ, जसले फोन हल्लिँदा पनि भिडियो स्थिर राख्न मद्दत गर्छ। सेल्फी क्यामेरामा पनि सुधार गरिएको छ, जसले अनुहारलाई बढी चम्किलो र आकर्षक देखाउँछ।
धेरै प्रयोगकर्ताले यसपटक ठूलो ब्याट्रीको अपेक्षा गरे पनि सामसङले ५००० एमएएच ब्याट्रीलाई नै निरन्तरता दिएको छ। चिनियाँ प्रतिस्पर्धीहरूले सात हजार एमएएचसम्मका ब्याट्री ल्याइरहेको अवस्थामा सामसङको यो निर्णय केही आश्चर्यजनक मानिएको छ।
यद्यपि, चार्जिङ स्पिड भने ४५ वाटबाट बढाएर ६० वाट पुर्याइएको छ, जसले ३० मिनेटमा ७५ प्रतिशतसम्म चार्ज गर्न सक्छ।
फोनमा स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट प्रयोग गरिएको छ, जुन अघिल्लो पुस्ताभन्दा २० प्रतितश बढी शक्तिशाली छ। सफ्टवेयरतर्फ, एआईको प्रयोग बढाउँदै स्क्रिनसटहरू स्वतः संगठित हुने, फोटो एडिटिङमा एआईको मद्दतले वस्तुहरू हटाउन वा थप्न सकिने जस्ता सुविधाहरू थपिएका छन्।
मार्च ११ देखि विश्वबजारमा उपलब्ध हुने फोनको प्रिबुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सामसङ ग्यालेक्सी एस२६को मूल्ल ९ सय, एस२६ प्रोको मूल्य ११ सय र एस२६ अल्ट्राको मूल्य १३ सय डलरदेखि सुरू हुनेछन्।
फागुन १४, २०८२ बिहीबार १३:०९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।