बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ : बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ। सो राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई गाउँपालिकाको वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरण गर्न सिफारिस गरिएको हो।

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले हालै निकुञ्जलाई उक्त सिफारिस गरेका हुन्। पालिकाका किउरेनी, बन्चरे,बाटुले,गौजे, जीला, सिमलकुना,डाँडागाउँ, कप्ताने, जलजला, मलईलाई निकुञ्जभित्रबाट अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अध्यक्ष खत्रीले बताए।

त्यहाँका बस्तीहरुमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा हुनुभन्दा ५० वर्षभन्दा पहिले नै मानव बसोबास रहेको भए पनि हाल राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले नागरिकले निकै दुःख पाउने गरेको अध्यक्षको भनाइ छ।

“त्यहाँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्यस क्षेत्रका नागरिकहरुलाई राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले मानवीय तथा घरपालुवा जनावर एवं बालीनालीमा क्षति पुर्याउने गरेका छन्”, उनले भने, “तर, पनि त्यहाँका नागरिकलाई जोखिमयुक्त स्थानमा बसोबास गर्नुको विकल्प नरहेको र राष्ट्रिय निकुञ्ज भएकै कारणले तीन वटै तहका सरकारबाट पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नसमेत नसक्दा राज्यले दिने सुविधाबाट बञ्चित भएको अबस्थामा त्यहाँबाट बस्ती सार्नुको विकल्प छैन।”

सोही क्षेत्रमा बसोबास गर्ने पीडित नागरिकहरुको जिउधनको सुरक्षा र राज्यको तर्फबाट नागरिकलाई उपलब्ध गराइने सेवा, सुविधाको पहुँच पुर्याउन र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई पनि कायम राख्न बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको अध्यक्ष खत्रीले बताए।

लामो समयदेखि समस्या समाधान नभएपछि आक्रोशित स्थानीयले आगामी प्रतिनिधिसभा निर्वाचनमा भोट नहाल्ने निर्णय गरेका छन्। नागरिकहरूको तीव्र असन्तोषका कारण यसपटक कुनै पनि उम्मेदवार भोट माग्न ती बस्तीमा पुग्न सकेका छैनन्।

त्यहाँ सडक सञ्जालको पनि सहज पहुँच छैन। फोनले पनि राम्रोसँग काम गर्दैन। जङ्गली जनावरले बालीनाली खाइदिँदा पनि त्यसलाई छुन पनि नमिल्ने अवस्था रहेको छ।

फागुन १४, २०८२ बिहीबार १२:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।