चुनावमा मदिरा र सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे तत्काल कारबाही

चुनावमा मदिरा र सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे तत्काल कारबाही

काठमाडाैं : निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन र उल्लंघन गर्नेमाथि तत्काल कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा कडाइ गर्न विशेष आग्रह गरेको हो।

आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाएकाे छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम यो निर्णय गरेको हो।

फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान नसकिउन्जेलसम्म सार्वजनिक तथा निजी सवारीसाधन चलाउनमा राेक लगाएकाे छ। एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकायका सवारीसाधन, र कूटनीतिक नियोगका सवारीसाधन भने चल्न पाउँनेछन्।

यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू यथावत् रुपमा सञ्चालन हुनेछन्। टिकट भएका यात्रुहरूले विमानस्थल आउजाउ गर्न निजी वा एयरलाइन्सको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन आयोगले स्पष्ट पारेको छ।

फागुन १८ गते राति १२ बजेदेखि सबै प्रकारका निर्वाचन प्रचारप्रसार गतिविधिमा पूर्ण रोक लाग्नेछ। 

सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिन प्रयोग हुने सवारी पासका लागि आयोगको सचिवालय परिसरमा छुट्टै 'पास वितरण इकाई' खडा गरिने भएको छ। जसमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीहरू खटिनेछन्।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम तत्काल कानुनी कारबाही हुनेछ। जिल्ला आचारसंहिता अनुगमन समिति र गृह मन्त्रालयको निर्देशनमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय सक्रिय रहनेछन्।

 
 

फागुन १४, २०८२ बिहीबार १२:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।