महानायकको ‘क्रेज’ खस्केको कि चुनाव लागेको? ‘प्रवासी जीवन’को प्रिमियरमै हल रित्तो
काठमाडौं : मुखले महानायक भनेर के गर्नु, आफ्नै फिल्मको प्रिमियरमा पुग्ने बेला इन्डस्ट्रीकै मान्छे नभएपछि!
हुन त यतिबेला चुनावको चटारोले गर्दा हलमा पैसा तिरेर फिल्म हेर्ने दर्शकको खडेरी छ, त्यो बुझ्न सकिन्छ। तर, सित्तैमा हेर्न पाइने प्रिमियर सोमा समेत फिल्मकर्मीको अनुहार नदेखिनु चाहिँ अलि अचम्मै भएन र?
कुरा हो, राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’को। मंगलबार नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा यो फिल्मको प्रिमियर राखिएको थियो। अरु बेला फिल्मको प्रिमियर हुँदा खचाखच भरिने हल आधाभन्दा बढी खाली थियो।
महानायक आफैँ उपस्थित हुँदा पनि न कोही नाम चलेका सेलिब्रेटी देखिए, न त मिडियाकै भीड लाग्यो।
अरु बेला एउटा सामान्य सैलुनको रिबन काट्न पुग्दा सयौं क्यामेराले घेरिने हमाललाई हिजो जम्मा ८-१० वटा युट्युबका क्यामेराले मात्रै पछ्याए। आयोजकले घर-परिवार र आफन्त ल्याएर बसाल्दा पनि हल भरिएन। हेर्दै टिठलाग्दो दृश्य!
यस्तो सुनसान प्रिमियरमा धन्न निर्देशक ऋषि लामिछाने र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा पुगेर महानायकको अलिकति भए पनि ‘नाक’ जोगाइदिए। यद्यपि लामिछाने पनि श्रीमती सरिताले अभिनय गरेको भएर आएको भन्ने गाइँगुइँ हलमा नचलेको हैन।
प्रिमियरका लागि भनेरै अमेरिकाबाट आइपुगेका फिल्मका निर्देशक तथा अभिनेता श्याम क्षेत्री र निर्माता रबिन आचार्यको उपस्थिति रहे पनि हलको खाली सिट देखेर उनीहरू पनि खिन्न देखिन्थे।
अब यहाँनेर प्रश्न उठ्छ- के साँच्चै राजेश हमालको क्रेज सकिएकै हो त? कि चुनावी चटारोले फिल्म इन्डस्ट्रीलाई फुर्सद नमिलेको हो? निम्तो नै नबाँडिएको त पक्कै होइन होला!
जे होस्, प्रिमियरमै सेलिब्रेटीको यस्तो खडेरी र खाली हल देखेपछि आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्म एक सातासम्म पनि हलमा टिक्छ कि टिक्दैन भन्ने प्रश्न भने उब्जियो नै!
स्मरण रहोस्, यस फिल्ममा राजेश हमालका साथमा सरिता लामिछाने र महादेव त्रिपाठी (जादुगर) को पनि अभिनय छ। अब हलमा महानायकको जादु चल्छ कि चल्दैन, त्यो त शुक्रबार नै थाहा होला!
फागुन १४, २०८२ बिहीबार ०९:२२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।