बाँकेका ५६ उम्मेदवारमध्ये ३३ जनाले मात्र खोले बैंक खाता
नेपालगन्ज : बाँकेमा ५६ जना उम्मेदवारमध्ये ३३ जनाले मात्र निर्वाचन खर्च परियोजनका लागि बैंक खाता खाेलेका छन्।
प्रतिनिधिसभा निर्वाचन आउन १० दिन बाँकी हुँदा १५ जनाले अझैसम्म बैङ्क खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ।
निर्वाचन क्षेत्र नम्बर १ मा ९, क्षेत्र नम्बर २ मा १४ र क्षेत्र नम्बर ३ मा १० गरी ३३ जना उम्मेदवारले बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत सर्वोदय उपाध्यायले जानकारी दिए।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा खाता नखाेलेका १५ जनालाई पटक-पटक फोनमार्फत ताकेता गरिएको जानकारी दिए।
“ताकेता गरिएको छ, प्रतिबद्धता पनि छ तर कार्यान्वयन भएको पाइँदैन,” उनले भने।
खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेको अधिकृत उपाध्यायको भनाइ छ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ। सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैङ्कको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने छ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि ३१ लाख र क्षेत्र नम्बर २ तथा ३ का लागि २९ लाखसम्मको खर्चको सीमा तोकेको छ।
फागुन ११, २०८२ सोमबार १४:२३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।