धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते २५ जनाकाे उपचार हुँदै

धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते २५ जनाकाे उपचार हुँदै

काठमाडौं : धादिङको बेनिघाट रोराङ गाउँपालिका-५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक मिसि हाउ, एन्जी शेर्पा, विपिन मानन्धर, पुजा फुयाल, सोमप्रसाद मल्ल, प्रदीप लामिछाने छन्।

यस्तै, ट्रमा सेन्टरमा सचिन्द्र सुनार, नोर्बु पाल्देन, स्वर्णीमा खत्री, मानबहादुर थापा, सलिना परियार र सुकुमाया श्रेष्ठको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस साेमबार बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गको सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

फागुन ११, २०८२ सोमबार १३:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।