भारतको अपराजित यात्रामा ब्रेक लगाएपछि मिलरले भने- ‘भारतलाई हराउन असम्भव छैन’

भारतको अपराजित यात्रामा ब्रेक लगाएपछि मिलरले भने- ‘भारतलाई हराउन असम्भव छैन’

एजेन्सी : टी-२० विश्वकपमा भारतको लगातार १२ खेलको अपराजित यात्रा तोड्दै दक्षिण अफ्रिकाले बलियो टोलीलाई पनि हराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ।

यस प्रतियोगितामा लगातार पाँच खेल जितेको दक्षिण अफ्रिका अब सेमिफाइनलको नजिक पुगेको छ। आफ्नो समूहको सबैभन्दा कठिन प्रतिद्वन्द्वी भारतलाई सुपर-८ मा हराएपछि दक्षिण अफ्रिकाको मनोबल उच्च भएको छ।

यद्यपि, टोलीले अहिल्यै धेरै हौसिने गल्ती भने गरेको छैन। ‘प्रतियोगिताकै सबैभन्दा बलियो मानिएको टोली पनि चुक्न सक्छ भने जो कोहीले पनि हार्न सक्छ’ भन्ने बुझेर उनीहरू आगामी खेलमा झनै केन्द्रित हुने तयारीमा छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै दक्षिण अफ्रिकाका अनुभवी ब्याट्सम्यान तथा यस खेलका सर्वाधिक रनकर्ता डेभिड मिलरले भने, ‘भारतलाई हराउन सकिन्छ। भारतीय टोली निकै उत्कृष्ट छ। तर यस्तो ठूलो प्रतियोगितामा सामान्य कुराहरूलाई सही तरिकाले गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। हाम्रो टोली परिपक्व छ, धेरै खेलाडीहरूले लामो समयदेखि सँगै खेलेका छन् जसले गर्दा दबाबको समयमा राम्रो खेल्न मद्दत पुगेको छ।’

दक्षिण अफ्रिकाको अबको मुख्य लक्ष्य एउटा ठूलो ट्रफी जित्नु हो। विगतमा कठिन परिस्थितिबाट पुनरागमन गर्दै अष्ट्रेलियाविरुद्ध लर्ड्समा टेस्ट च्याम्पियनसिप जितेको र भर्खरै अफगानिस्तानविरुद्धको ‘डबल सुपर ओभर’मा पाएको रोमान्चक जितले टोलीको आत्मविश्वास निकै बढाएको छ।

भारतविरुद्ध खेल्नु कहिल्यै सहज नहुने मिलरले बताए। भारतको अहमदाबादमा दक्षिण अफ्रिकाले बनाएको १८७ रनको योगफललाई मिलरले ‘सन्तोषजनक’ भनेका छन्। टोलीले २०० रन पुर्याउने लक्ष्य राखेको भए पनि बलिङ र उत्कृष्ट फिल्डिङले गर्दा जित सम्भव भएको उनले बताए।

‘पावरप्लेमै ३ विकेट लिएर हामीले खेलमा राम्रो पुनरागमन गर्यौं’, मिलरले भने। उनले बलर लुंगी एन्गिडीको ‘स्लोअर बल’ र केशव महाराजले एकै ओभरमा लिएका ३ विकेटलाई खेलको ‘टर्निङ प्वाइन्ट’ मानेका छन्। महाराजको ओभरमा ट्रिस्टन स्टब्सले लङ-अनमा उत्कृष्ट ३ वटा क्याच लिएका थिए।

‘भारतीय ब्याट्सम्यानहरू निकै खतरनाक थिए र ठूला शटहरू प्रहार गरिरहेका थिए। तर हाम्रा बलरहरूले निकै उत्कृष्ट बलिङ गर्दै उनीहरूलाई रोक्न सफल भए’, मिलरले थपे।

दक्षिण अफ्रिकाले आफ्नो अर्को खेल बिहीबार सोही मैदानमा वेस्ट इन्डिजविरुद्ध खेल्नेछ।

फागुन ११, २०८२ सोमबार १२:५१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।