गुगलले ल्यायो 'जेमिनी ३.१ प्रो' एआई मोडल : तथ्यांक विश्लेषणमा उत्कृष्ट क्षमता

गुगलले ल्यायो 'जेमिनी ३.१ प्रो' एआई मोडल : तथ्यांक विश्लेषणमा उत्कृष्ट क्षमता

काठमाडौं : प्रविधि कम्पनी गुगलले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल 'जेमिनी ३.१ प्रो' सार्वजनिक गरेको छ। जटिल समस्याहरू समाधान गर्न थप प्रभावकारी क्षमता प्रदान गर्ने उद्देश्यका साथ यो मोडल ल्याइएको कम्पनीले जनाएको छ।

गत नोभेम्बर १९ मा जेमिनी ३ प्रो सार्वजनिक भएको तीन महिनापछि गुगलले यसको उन्नत संस्करण बजारमा ल्याएको हो। कम्पनीका अनुसार नयाँ मोडलले मुख्य तर्क क्षमतामा उल्लेखनीय सुधार गर्दै जटिल चुनौतीहरू सामना गर्न सक्ने आधार तयार गरेको छ। 

विभिन्न एआई बेन्चमार्कहरूमा जेमिनी ३.१ प्रो ले अघिल्लो संस्करण र अन्य प्रतिस्पर्धी मोडलहरूभन्दा उत्कृष्ट प्रदर्शन गरेको गुगलको दाबी छ। यो मोडल विशेषगरी 'साधारण उत्तर पर्याप्त नहुने' जटिल परिस्थितिका लागि तयार गरिएको हो। यसले बहु-स्तरीय कार्य र गहन प्रश्नहरू समाधान गर्न उन्नत तर्क प्रविधिको प्रयोग गर्दछ। 

जटिल विषयहरूको स्पष्ट र दृश्यात्मक व्याख्या गर्न, ठूलो परिमाणको तथ्यांक विश्लेषण गर्न तथा सिर्जनात्मक कार्यप्रवाहमा सहयोग पुऱ्याउन उपयोगी हुने बताइएको छ। यो मोडल जेमिनी एपमार्फत सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ। तर, 'गुगल एआई प्रो' र 'गुगल एआई अल्ट्रा' सदस्यहरूले यसको प्रयोगमा उच्च सीमा पाउनेछन्। 

यस्तै, यो मोडल 'नोटबुकएलएम'मा पनि समावेश गरिएको छ, जहाँ यसको पहुँच प्रो र अल्ट्रा सदस्यहरूमा मात्र सीमित गरिएको छ। यो नयाँ संस्करणको आगमनसँगै जेनरेटिभ एआईको क्षेत्रमा तर्क क्षमता सुदृढ गर्ने प्रतिस्पर्धा अझ तीव्र बन्ने विश्लेषण गरिएको छ।

फागुन ९, २०८२ शनिबार १५:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।