टी-२० विश्वकप नखेल्ने निर्णयबारे बंगलादेशी प्रशिक्षक आक्रोशित, पूर्व सल्लाहकारले खुलेआम झुट बोलेको आरोप

टी-२० विश्वकप नखेल्ने निर्णयबारे बंगलादेशी प्रशिक्षक आक्रोशित, पूर्व सल्लाहकारले खुलेआम झुट बोलेको आरोप
बंगलादेशका पूर्व खेलकुद सल्लाहकार(मन्त्री) आसिफ नजरुल

एजेन्सी : बंगलादेश क्रिकेट टोलीका वरिष्ठ सहायक प्रशिक्षक मोहम्मद सलाहुद्दिनले टी-२० विश्वकप नखेल्ने निर्णयलाई लिएर पूर्व खेलकुद सल्लाहकार आसिफ नजरुलको कडा आलोचना गरेका छन्। 

बंगलादेशी पत्रिका द डेली स्टारका अनुसार, पूर्व सल्लाहकार नजरुलले विश्वकप नखेल्ने निर्णय क्रिकेट बोर्ड र खेलाडीहरूको भएको बताएका थिए। यस भनाइप्रति आपत्ति जनाउँदै प्रशिक्षक सलाहुद्दिनले नजरुलले खुलेआम झुट बोलेको आरोप लगाएका हुन्।

खासमा, नजरुलले पहिला 'सरकारले टोलीलाई विश्वकपमा नपठाउने निर्णय गरेको' बताएका थिए। तर पछि उनले आफ्नो बोली फेर्दै यसको सम्पूर्ण जिम्मेवारी क्रिकेट बोर्ड र खेलाडीमाथि थोपरेका थिए।

प्रशिक्षक सलाहुद्दिनले आक्रोश पोख्दै भने, ‘उहाँ ढाका विश्वविद्यालयका शिक्षक हुनुहुन्छ। देशको सबैभन्दा ठूलो शैक्षिक संस्थासँग जोडिएको व्यक्तिले यसरी झुट बोलेको हामीलाई स्वीकार्य छैन। पहिला एउटा कुरा भन्ने र पछि बोली फेर्ने कुरा हामी कसरी मान्न सक्छौँ?’

विश्वकप खेल्न नपाएपछि खेलाडीहरूको मानसिक अवस्था निकै कमजोर भएको पनि उनले बताए। केही खेलाडीहरू यति निराश भएका थिए कि उनीहरूलाई फेरि मैदानमा फर्काउन निकै गाह्रो भएको थियो।

उनले थपे, ‘कुनै पनि खेलाडीले विश्वकप खेल्ने ठूलो सपना बोकेको हुन्छ। तपाईंले एकैछिनमा त्यो सपना तोडिदिनुभयो। यदि यो देशको निर्णय हो र राष्ट्रिय कारणले गरिएको हो भने खेलाडीले देशका लागि त्याग गर्न सक्छन्। तर व्यक्तिगत रूपमा यसले खेलाडीलाई ठूलो नोक्सान भएको छ।’

यसैबीच, बंगलादेश टी-२० टोलीका उप-कप्तान सैफ हसनले पनि विश्वकप खेल्न नपाएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। यो निर्णयलाई स्वीकार गर्न निकै गाह्रो भएको उनले बताएका छन्।

शुक्रबार आफ्नो फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘विश्वकप खेल्न नपाउनुको पीडाबाट बाहिर आउन सजिलो थिएन किनभने यो मेरो पहिलो विश्वकप हुने थियो। यो मेरो जीवनभरको सपना थियो, जसको लागि मैले धेरै मेहेनत र त्याग गरेको थिएँ।’

फागुन ९, २०८२ शनिबार ०९:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।