चुनावी प्रचारमा भारतीय गाडी प्रयोग
काठमाडौं : सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसारमा प्रयोग गरिएका दुई वटा भारतीय नम्बर प्लेटका सवारीसाधनलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारका क्रममा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) र ‘स्वाभिमान पार्टी’को प्रचारप्रसारमा प्रयोग गरिएका विदेशी नम्बर प्लेटको गाडी नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको अनुगमन टोलीले उक्त गाडीहरू नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो।
प्रहरी अनुसन्धान र प्राप्त विवरणअनुसार सप्तरी क्षेत्र नम्बर २ का स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहका समर्थकले बीआर ११ पीबी ८६१० नम्बरको स्कार्पियो प्रयोग गरिरहेको पाइएको थियो। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसारमा बीआर ६७ पीबी ८९५६ नम्बरको भारतीय स्कार्पियो प्रयोग भइरहेको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले निर्वाचन आचारसंहिताले प्रचारप्रसारका क्रममा अनुमति बिना विदेशी नम्बर प्लेटका सवारीसाधनको प्रयोगमा रोक लगाएको बताए। उनका अनुसार आचारसंहिता विपरीत कार्य गरेकाले नियन्त्रणमा लिइएका गाडिलाई आगामी दिनमा आचारसंहिता उल्लङ्घन नगर्ने सर्तमा कागज गराएर सम्बन्धित पक्षको जिम्मा लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन अनुगमनलाई कडाइ गरिएको र उल्लङ्घन गर्ने जो-कोहीमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।
फागुन ४, २०८२ सोमबार २१:४२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।