सब इन्जिनियर हत्या घटनाः कर्मचारीको सुरक्षाकाे माग राख्दै सर्लाही अदालतको सेवा अवरुद्ध

सब इन्जिनियर हत्या घटनाः कर्मचारीको सुरक्षाकाे माग राख्दै सर्लाही अदालतको सेवा अवरुद्ध

सर्लाही : आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा साेमबार सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन्।

जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषिलाई कारवाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राखेका छन्।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका-६ वैशाखा घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति हत्या भएकाे थियाे। 

मलङ्गवा नगरपालिका-१० स्थित डेरामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले कोठाबाहिर बोलाएर गोली प्रहार गरेका थिए। उपचारका लागि अस्पताल पुर्याउँदा उनको मृत्यु भएको थियो ।

उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको छ।

सब इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलङ्गवा फर्किएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक सरोज राईले बताए।

हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायव उपरीक्षक राईले बताए।

सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा-१० मा डेरामा बस्दै आएका थिए।

फागुन ४, २०८२ सोमबार १७:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।