'बदलिएको कांग्रेस'ले बहुमत ल्याउने उपसभापति विश्वप्रकाश शर्माको दाबी
काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले देशव्यापी रूपमा कांग्रेसको पक्षमा जनलहर सिर्जना भएको दाबी गरे।
शर्माले अहिलेको राजनीतिक गति र जनमतको वृद्धिलाई हेर्दा कांग्रेस सबैभन्दा ठुलो दल बन्ने निश्चित भइसकेको र अबको एक हप्ताभित्र पार्टी बहुमत ल्याउने सुरक्षित स्थानमा पुग्ने दाबी गरे।
"अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठुलो दल बन्ने निश्चित देखिएको छ," उनले भने, "यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ।"
'जेनजी' आन्दोलन र कांग्रेसको रूपान्तरण
उपसभापति शर्माले 'जेनजी' आन्दोलनपछि कांग्रेस नै आफूलाई पूर्ण रूपमा रूपान्तरण गर्ने एकमात्र शक्ति भएको दाबी समेत गरे। जनताले खोजेको परिवर्तन कांग्रेसभित्रै सम्भव भएको बताउँदै उनले परिवर्तन खोजेको हो भने परिवर्तन नै भएर आएको पार्टी कांग्रेस भएको र जो आफूलाई बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्ने दाबी समेत गरे।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका नेता तथा कार्यकर्ताहरू एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको दाबी गर्दै पार्टीभित्रको एकता र बदलिएको कार्यशैलीकै कारण अन्य दलबाट कांग्रेसमा समाहित हुनेहरूको संख्या बढिरहेको थप दाबी समेत गरे।
फागुन ३, २०८२ आइतबार १६:५०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।