त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा

काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिना निषेधाज्ञा जारी गरिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी  ईश्वरराज पौडेलले  विज्ञप्ति जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको छ।

निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएकाे छ। विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति-सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको  विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा भनिएको छ।

सरकारका सम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएको प्रशानसनले बताएको छ। साथै यसबारे काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम नभएको विज्ञप्तीमा उल्लेख छ।

निषेधित र संवेदनशील क्षेत्रमा कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई कारबाही गरिने समेत विज्ञप्तीमा भनिएको छ।

राप्रपाका नेताहरू र दुर्गा प्रसाईं लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा शुक्रबार स्वागत गर्ने भन्दै आह्वान गरेका थिए। 

 

माघ २९, २०८२ बिहीबार ११:५१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।