नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवकको मृत्यु

नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवकको मृत्यु

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका-७ खाल्टेमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २० वर्षीय सचिन कुँवर रहेका छन्।

प्रहरीका अनुसार, त्रिशुलीबाट गल्छी तर्फ जाँदै गरेको बा ८४ प ४२९० नम्बरको मोटरसाइकल राति करिब नौ बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब ५-६ मिटर तल खोल्चामा खसेको थियो।

दुर्घटनामा टाउकोमा चोट लागी गम्भीर घाइते भएका कुँवरलाई तत्काल उपचारका लागि त्रिशुली अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति ९:२५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

घटना लगत्तै प्रहरी चौकी तारुकाबाट प्रहरी सहायक निरीक्षक सविन तिवारीको नेतृत्वमा टोली खटिएको थियो। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ भने शव हाल त्रिशुली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

माघ २९, २०८२ बिहीबार ०९:२२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।