सुरक्षित इन्टरनेट दिवसमा एनसेल फाउन्डेसनले ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम ल्यायो
काठमाडौं : ‘सुरक्षित इन्टरनेट दिवस २०८२’ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु गरेको छ। देशभरका विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई साइबर सुरक्षा, डाटा गोपनीयता र डिजिटल सुरक्षाका विविध पक्षबारे सचेतना फैलाउन यो कार्यक्रम ल्याइएको हो।
कार्यक्रमबाट देशभरका ५० हजार बढी विद्यार्थी, शिक्षक र समुदायका सदस्यहरू लाभान्वित हुने आयोजकको अपेक्षा देखिन्छ।
हाल नमुना परियोजनाका रूपमा सुरु गरिएको यो कार्यक्रम बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा सञ्चालन हुने र कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू चलाइने आयोजकले जानकारी दिएका छन्।
सहभागीहरूलाई इन्टरनेट सुरक्षा सम्बन्धी हाते पुस्तिका समेत वितरण गरिने आयोजकले जानकारी दिएका छन्। अभियानको औपचारिक घोषणा मंगलबार पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट गरिएको थियो।
कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले विद्यार्थीहरूसँग डिजिटल सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्सको जिम्मेवार प्रयोगबारे छलफल गरेका थिए।
कार्यक्रममा बोल्दै सिइओ फोलेले आफू एक बुबा पनि भएकाले व्यक्तिगत डाटाको सुरक्षा आफ्नो लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताएका थिए।
“प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग जोडिएका जोखिम बुझ्न जरुरी छ। यो कार्यक्रमले नयाँ पुस्तालाई डिजिटल संसारमा सुरक्षित र आत्मविश्वासका साथ रहन आवश्यक ज्ञान र सीप प्रदान गर्नेछ" उनले भने।
नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेलले डिजिटल प्लेटफर्मले युवाहरूको सिकाइ र निर्णय प्रक्रियामा प्रभाव पारिरहेको बताउँदै अनलाइन सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।
यस अभियान अन्तर्गत हालसम्म कास्कीका श्री राष्ट्रिय मावि, अमरसिंह मावि, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल, सेन्ट-मेरिज र रेनबो एकेडेमिक होम्समा कार्यक्रम सम्पन्न भइसकेको छ। त्यस्तै, ललितपुरको सेन्ट-मेरिज र बानी विलास हाई स्कुल तथा भक्तपुरको आदर्श हाई स्कुलमा पनि सत्रहरू सञ्चालन भइसकेका छन्।
माघ २८, २०८२ बुधबार १८:१२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।