रजनीकान्तलाई ‘नक्कली समाजसेवी’ भनेपछि सामाजिक सञ्जालमा 'ट्रोल'

रजनीकान्तलाई ‘नक्कली समाजसेवी’ भनेपछि सामाजिक सञ्जालमा 'ट्रोल'

काठमाडौं : दक्षिण भारतीय अभिनेता रजनीकान्तलाई 'नक्कली समाजसेवी' भनेपछि एक जना चलचित्रकर्मी यति बेला सामाजिक सञ्जालमा ‘ट्रोल’को सिकार भएका छन्। रजनीकान्तका प्रशंसकहरूले उनको सामाजिक सञ्जालमा व्यापक विरोध (ट्रोल) गरिरहेका छन्।

सफाई कर्मचारीलाई सम्मान गरेको विषयमा रजनीकान्तमाथि तमिल चलचित्र निर्देशक लेनिन भारतीले 'नक्कली समाजसेवी'को संज्ञा दिँदै टिप्पणी गरेका थिए। रजनीकान्तले हालै पद्मा नामकी एक सफाई कर्मचारीलाई गरेको सम्मान गरेका थिए।

सडक सफा गर्ने क्रममा लाखौं मूल्य बराबरको सुनको गहना फेला पारेकी पद्माले उक्त गहना प्रहरीलाई बुझाएकी थिइन्। उनको सोही इमान्दारिताबाट प्रभावित भएर रजनीकान्तले पद्मालाई आफ्नै निवासमा बोलाएर सम्मान गर्दै उपहारस्वरूप सुनको चेन प्रदान गरेका थिए।

रजनीकान्तको उक्त कार्यको धेरैले प्रशंसा गरिरहेका बेला निर्देशक भारतीले भने यसलाई ‘तथाकथित उदारता’ भन्दै आलोचना गरे। उनले रजनीकान्तलाई वास्तविक समस्यामा मौन बसेको आरोप लगाए।

सामाजिक सञ्जाल एक्समा रजनीकान्तलाई प्रश्न गर्दै उनले लेखेका छन्, "तपाईं कहाँ हुनुहुन्थ्यो रजनीकान्त ? जब सफाई कर्मचारी रिपन बिल्डिङको गेटमा आफ्नो अधिकारका लागि विरोध प्रदर्शन गरिरहेका थिए ? के तपाईं उनीहरूलाई मात्र उनीहरूको युनिफर्मबाट चिन्नुहुन्छ जसले गर्दा तपाईं आफ्नो तथाकथित उदारता देखाउन सक्नुहोस्, तपाईं नक्कली समाजसेवी हो ?"

भारतीले रजनीकान्तलाई ‘नक्कली समाजसेवी’ भनेपछि रजनीकान्तका समर्थकहरू आक्रोशित भएका छन्। उनीहरूले भारतीलाई ‘सस्तो लोकप्रियताका लागि ठूला कलाकारको आलोचना गरेको’ आरोप लगाउँदै ट्रोल गरिरहेका छन्। केही प्रयोगकर्ताले रजनीकान्तले व्यक्तिगत तवरमा गरेको सहयोगलाई राजनीतिक मुद्दा बनाउनु गलत भएको तर्क गरेका छन्।

लेनिन भारती तमिल चलचित्र क्षेत्रका स्थापित निर्देशक र लेखक हुन्। उनी विशेष गरी सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित चलचित्र निर्माणका लागि चिनिन्छन्। सन् २०१८ मा उनले निर्देशन गरेको चलचित्र ‘मेर्कु थोडार्ची मलाई’ले समीक्षात्मक रूपमा निकै प्रशंसा पाएको थियो।   

माघ २४, २०८२ शनिबार १६:०७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।