डा. अमृतको उपचार अनुभव : चिकित्सकभन्दा कार्यकर्ताको सुझाव मान्दा दाङमा जनप्रतिनिधिकी श्रीमतीको ज्यानै गयो
सेतो एप्रोन लगाएर स्टेथेस्कोप बोक्ने हरेक चिकित्सकको चाहना हुन्छ- आफ्नो बिरामी निको भएर हाँस्दै घर फर्कियोस्।
चिकित्सकीय जीवनमा कयौँलाई मृत्युको मुखबाट खोसेर नयाँ जीवन दिएका ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपी)’ विशेषज्ञ डा. अमृतराज सुवेदीसँग सफलताका थुप्रै कथाहरू छन्।
तर, दाङमा घटेको एउटा दुःखद् घटनाले भने उनलाई आज पनि झस्काइरहन्छ। त्यो घटना, जहाँ रोगको संक्रमणभन्दा खतरनाक बनेको थियो- ‘चिकित्सकको सुझाव नमान्ने प्रवृत्ति।’
समयमै सही निर्णय लिन नसक्दा र विशेषज्ञको सल्लाहलाई बेवास्ता गर्दा कसरी एउटा जीवनको अन्त्य हुन्छ भन्ने कुराको साक्षी बन्नुपर्दाको पीडा डा. अमृतको मनमा अझै ताजै छ। त्यो घटनापछि चिकित्सकीय धर्म, नेपालको उपचारात्मक सेवा सुविधाको अवस्था र समाजको बुझाइप्रति उनको मनमा गहिरो प्रश्न उब्जियो।
उनै डाक्टर अमृतले चिकित्सकीय पेशाका सिलसिलामा भोगेका केही घटनाक्रमहरूलाई उकेरासँग साटेका छन्:
चिकित्सकको सुझाव नमान्ने हठले ज्यानै गएको त्यो क्षण
घटना दाङको एक स्थानीय अस्पतालको हो। एक दिन अस्पतालको इमर्जेन्सी कक्षमा करिब ४५ वर्षीया महिलालाई उपचारका लागि ल्याइयो। बिरामी सामान्य नागरिक थिइनन्, उनी त्यहाँका स्थानीय जनप्रतिनिधिकी श्रीमती थिइन्।
बिरामीको अवस्था हेर्दै नाजुक देखिन्थ्यो। एक हप्तादेखि उच्च ज्वरोले थलिएकी उनमा डेंगी तथा स्क्रब टाइफस संक्रमणको गम्भीर लक्षण देखिएको थियो।

अस्पताल ल्याइपुर्याउँदा उनको शरीरमा अक्सिजनको मात्रा कम भइसकेको थियो भने रक्तचाप निकै तल झरिसकेको थियो। सबैभन्दा चिन्ताको विषय- बिरामीको पिसाब बन्द भएको थियो र उनी अर्धचेतन अवस्थामा थिइन्।
डा. अमृत र उनको टिमले तत्काल जाँच सुरु गर्यो। रिपोर्ट र लक्षणहरूले स्पष्ट संकेत गरिरहेका थिए- संक्रमणका कारण बिरामी ‘सेप्सिस शक’को अवस्थामा पुगिसकेकी छिन्।
‘माइट’ नामक संक्रमित किराको टोकाइबाट हुने स्क्रब टाइफसले उनको मस्तिष्क, कलेजो र फोक्सोजस्ता भाइटल अंगहरूमा असर पुर्याउन सुरु गरिसकेको थियो। यो यस्तो अवस्था हो, जहाँ समयमै सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार नभए बिरामीको मृत्यु निश्चितजस्तै हुन्छ।
आधारभूत तहको उक्त अस्पतालमा प्राथमिक उपचारका लागि स्लाइन पानी, प्यारासिटामोल र एन्टिबायोटिक त चलाइयो, तर बिरामीलाई बचाउन आईसीयू र भेन्टिलेटरको आवश्यकता थियो। जुन सुविधा त्यो अस्पतालमा उपलब्ध थिएन।
डा. अमृतको टिमले बिरामीका श्रीमानलाई तत्काल बोलाएर वस्तुस्थितिको गम्भीरता बुझायो। ‘बिरामीको अवस्था अत्यन्तै नाजुक छ, यहाँ आईसीयू छैन। उहाँलाई तुरुन्तै नेपालगञ्ज वा बुटवलजस्ता सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्छ, एक मिनेट पनि ढिला गर्नु जोखिमपूर्ण हुन्छ’, डाक्टरले सुझाव दिए।
विडम्बना! यहाँनेर विज्ञान र विशेषज्ञतामाथि ‘भनसुन’ र ‘हचुवा सल्लाह’ हाबी भयो। ती जनप्रतिनिधिले विशेषज्ञ डाक्टरको कुरा सुन्नुको साटो आफ्ना पार्टीका अन्य जनप्रतिनिधि र स्थानीय कार्यकर्ताहरूसँग सल्लाह मागे।
चिकित्सा विज्ञानबारे ज्ञान नभएका सल्लाहकारहरूले सुझाव दिएछन्- ‘डेंगी भएको बिरामी त हो, त्यहीँ राखेर उपचार गर्दा भइहाल्छ नि! यसको उपचार भनेको सिटामोल र स्लाइन पानी त हो, किन दुख दिने?’
आफ्नै सहकर्मीहरूको यस्तो ‘सल्लाह’ पाएपछि ती जनप्रतिनिधिले डाक्टरको सुझावलाई लत्याइदिए।
‘यहीँ ठिक होला, बाहिर किन लैजाने?’ भन्दै उनले श्रीमतीलाई रिफर गर्न मानेनन्। डा. अमृत र उनको टिमले पटक-पटक सम्झाउने प्रयास गरे। बिरामीको जीवन पल्टिरहेको बालुवाको घडीजस्तै सकिँदै थियो, तर श्रीमान् टसको मस भएनन्।
अझ रोचक र दुःखलाग्दो कुरा त के थियो भने, अन्य जनप्रतिनिधिहरूले समेत डाक्टरलाई फोन गरेर दबाब दिए- ‘एक रात रिफर नगरी त्यहीँ राखिदिनुस्, केही हुँदैन।’
डा. अमृतलाई भने छटपटी भइसकेको थियो। आँखाअगाडि बिरामीको मृत्यु कुरेर बस्नुपर्ने बाध्यता एक चिकित्सकका लागि कति पीडादायी हुन्छ, त्यो शब्दमा बयान गर्न सकिँदैन।
अन्ततः डाक्टरको टिमले ‘जेसुकै जोखिम भए पनि त्यसको जिम्मेवारी स्वयं बिरामी पक्षको हुने’ गरी उच्च जोखिम मञ्जुरीनामामा हस्ताक्षर गराएर उपचार जारी राख्यो।
तर, कागजमा हस्ताक्षर गराउँदैमा बिरामीको अवस्था सुध्रिने थिएन। स्वास्थ्य अवस्था झन्-झन् बिग्रँदै गयो। राति ९ बजिसकेको थियो। डा. अमृतले अब भने धैर्य गर्न सकेनन्।

उनले पुनः ती जनप्रतिनिधिलाई बोलाएर अलि कड्केरै भने, ‘तपाईंले अब पनि यहीँ राख्नुभयो भने बिरामी रहनुहुन्न। लौ न! उहाँलाई छिटो आईसीयू भएको ठाउँमा लैजानुस्, नत्र हामीले बचाउन सक्दैनौँ।’
चिकित्सकको यो अन्तिम चेतावनीपछि बल्ल ती श्रीमान् र परिवारका सदस्यहरू झस्किए। उनीहरू बिरामीलाई अन्यत्र लैजान राजी भए। डा. अमृतको टिमले हतार-हतार एम्बुलेन्स र रिफरको व्यवस्था मिलायो। राति १० बजेतिर बिरामीलाई नेपालगञ्ज रिफर गरियो।
नेपालगञ्जको एक निजी अस्पतालमा पुर्याएर उनलाई आईसीयू र भेन्टिलेटरमा राखियो। तर, दुर्भाग्य! समय धेरै घर्किसकेको थियो। संक्रमणले शरीरका अंगहरू काम नलाग्ने अवस्थामा पुर्याइसकेको थियो। चिकित्सकहरूको अथक प्रयासका बाबजुद भोलिपल्ट दिउँसो ती महिलाले संसार त्यागिन्।
यो खबर सुन्दा डा. अमृत मर्माहत बने।
‘हामीले भनेकै समयमा सुविधासम्पन्न अस्पतालमा लगिएको भए ती महिला बाँच्न सक्थिन् कि!’ भन्ने पश्चातापले उनलाई लामो समयसम्म पोल्ने गर्छ। यो घटनाले उनलाई पाठ सिकायो- नेपालमा बिरामीको उपचार रोगको मात्र होइन, बिरामीका आफन्तको मनोविज्ञान र सामाजिक संरचनाको पनि गर्नुपर्ने रहेछ।
पोखरादेखि मेडिकल कलेजसम्मको यात्रा
चिकित्सकीय जीवनमा यस्ता कयौं तीतो-मिठो अनुभव संगालेका डा. अमृतको पृष्ठभूमि भने शैक्षिक माहोलले भरिएको थियो।
कास्कीको तत्कालीन लेखनाथ नगरपालिका-१ (हाल पोखरा महानगरपालिका)मा २०४८ सालमा जन्मिएका अमृतका बुवा शिक्षक थिए। घरको जेठो छोरा, बुवाको प्रेरणा र पढाइप्रतिको लगावले उनलाई सानैदेखि अब्बल बनायो।
पोखराकै न्यु लाइट आवासीय माविबाट २०६४ सालमा एसएलसी र अमरसिंह उच्च माविबाट विज्ञान संकायमा प्लस टु सकेपछि उनी डाक्टर बन्ने सपना बोकेर काठमाडौं हानिए।
परिवारको चाहना र आफ्नो लगाव मिलेपछि उनले एमबीबीएस प्रवेश परीक्षामा नाम निकाले। सन् २०१० मा गण्डकी मेडिकल कलेज, पोखरामा भर्ना भएर २०१६ मा एमबीबीएस पूरा गर्दा उनी परिवारकै पहिलो डाक्टर बनिसकेका थिए।

एमबीबीएसपछि गण्डकी मेडिकल कलेजमै मेडिकल अधिकृतका रूपमा हाडजोर्नी विभागमा तीन महिना र काभ्रेको धुलिखेल अस्पतालमा ६ महिना काम गरेपछि उनलाई विशेषज्ञता हासिल गर्ने हुटहुटी चल्यो।
संघर्षपूर्ण एमडी यात्रा र ‘एमडीजीपी’को छनोट
डा. अमृतलाई पोस्ट ग्र्याजुएट (एमडी) गर्नु थियो, त्यो पनि आफ्नै बलबुतामा। काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा ७०औं नम्बरमा नाम त निस्कियो, तर छात्रवृत्ति पाइएन। पैसा तिरेर पढ्ने उनको मनसाय थिएन। बरु एक वर्ष ग्याप राखेर उनले कडा मिहिनेत गरे। क्लिनिकहरूमा काम गर्दै पढाइलाई निरन्तरता दिए।
मिहिनेतको फल मीठो हुन्छ भने झैँ, उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा पूर्ण छात्रवृत्तिमा नाम निकाले। त्यहाँ उनले रोजेको विषय थियो- ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन’।
एमडीजीपी अध्ययन गरेका चिकित्सकलाई ‘फ्यामिली डाक्टर’ वा ‘हस्पिटलिस्ट’ पनि भनिन्छ। आकस्मिक सेवादेखि, बालरोग, स्त्रीरोग, हाडजोर्नी र सामान्य शल्यक्रियासम्मको ज्ञान राख्ने भएकाले यो विषय ग्रामीण र दूरदराजका अस्पतालका लागि वरदान सावित हुन्छ। अमृतले सन् २०२२ मा आफ्नो तीन वर्षे एमडी यात्रा पूरा गरे।
राजनीतिको चेपुवामा स्वास्थ्य सेवा
सरकारी छात्रवृत्तिमा पढेकाले दुई वर्ष अनिवार्य सरकारी सेवा गर्नुपर्ने नियम थियो। सोही अनुसार उनी स्वास्थ्य मन्त्रालयको खटनपटनमा गोरखा जिल्ला अस्पताल पुगे। त्यहाँ १३ महिना काम गरेपछि उनी पोखरास्थित ‘प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल’ मा सरुवा भए।
आफ्नै गृहजिल्ला पोखरामा सेवा गर्न पाउँदा उनी खुसी थिए। तर, त्यहाँको बसाइ सोचेजस्तो सहज भएन। सात महिना काम गरेपछि उनको छात्रवृत्ति करार अवधि सकियो।

त्यसपछि पनि त्यहीँ बसेर काम गर्ने उनको इच्छामा स्थानीय राजनीति बाधक बन्यो। राजनीतिक आस्था र पहुँचको खेलले एक दक्ष चिकित्सकलाई काम गर्नबाट वञ्चित गराउने परिपाटी उनले नजिकबाट देखे।
त्यसपछि उनी दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाको प्रस्तावित ‘राप्ती आधारभूत अस्पताल’ मा मेडिकल सुपरिटेन्डेन्टका रूपमा पुगे। सिसहनिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको थियो। भवन नयाँ थियो, तर उपकरण र जनशक्तिको अभाव उस्तै।
सीमित स्रोतसाधनका बाबजुद बिरामीको उपचारमा खटिँदा उनलाई जति सन्तुष्टि मिल्थ्यो, त्योभन्दा बढी दिक्दारी स्थानीय राजनीतिक हस्तक्षेपले दिन्थ्यो। नेता र कार्यकर्ताहरूले डाक्टरलाई आफ्नो कार्यकर्ताजस्तो ठान्ने, नियम विपरीत काम गराउन खोज्ने र अस्पताललाई राजनीतिक अखडा बनाउने प्रवृत्तिले उनलाई त्यहाँ लामो समय टिक्न दिएन।
‘पूर्वाधारको अभावमा बिरामीलाई चाहेजस्तो सेवा दिन नसक्नुको पीडा त छँदै थियो, त्यसमाथि राजनीतिको घिनलाग्दो खेलमा फस्ने डरले मलाई त्यहाँ बस्न मन लागेन’, डा. अमृत ती दिनहरू सम्झन्छन्।
अस्थिरता र राजनीतिक हस्तक्षेपबाट केही टाढा रहँदै प्राज्ञिक र चिकित्सकीय अभ्यासलाई अघि बढाउन उनले नयाँ गन्तव्य रोजे। विगत एक वर्षदेखि उनी दाङस्थित ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा लेक्चरर (उप-प्राध्यापक) का रूपमा कार्यरत छन्।

अहिले उनको दैनिकी फेरिएको छ। बिरामीको स्वास्थ्य जाँच गर्ने, जटिल केसहरूको उपचार गर्ने, चिकित्सा शास्त्रका नयाँ विद्यार्थीहरूलाई पढाउने र स्वास्थ्यसम्बन्धी खोज तथा अनुसन्धानमा सक्रिय रहने काममा उनी रमाइरहेका छन्।
माघ २४, २०८२ शनिबार १२:४२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।